
पोखराः गण्डकी प्रदेशका सबै जिल्लामा बुधबारबाट कोरोनाविरुद्धको खोप अभियान शुरु हुँदैछ । देशका सबै जिल्लासँगै प्रदेशमा बुधबारबाट अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा सेवाका कर्मचारीलाई खोप लगाउन लागिएको हो ।
गण्डकीका ११ जिल्लाका जिल्ला अस्पतालहरु, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, संक्रामक तथा सरुवारोग अस्पताल, मणिपाल मेडिकल कजेल र गण्डकी मेडिकल कलेजमा एकैसाथ खोप कार्यक्रम शुरुवात गरिने गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेशमा ३९ हजार १ सय ३९ मात्रा भ्याक्सिन प्राप्त भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । मुख्यमन्त्रीले पोखरासँगै प्रदेशका सबै जिल्लाका सदरमुकामस्थित अस्पतालबाट यो अभियान सुरुवात भएको घोषणा गरिनेछ ।
माघ १८ गतेसम्म चल्ने अभियानका क्रममा दमौली अस्पतालमा विहान १० बजेबाट खोप लगाउने कार्य आरम्भ हुने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।