प्रदेश सभालाई गफ गर्ने अखडा नबनाऔंः मुख्यमन्त्री गुरुङ

  • ख-
  • ख+

पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले गण्डकी प्रदेश सभालाई गफ गर्ने थलो नबनाई रचनात्मक रुपमा उपयोग गर्न सांसदहरुसँग आग्रह गरेका छन् ।

गण्डकी प्रदेशको विशेष अधिवेशनमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यसलाई राजा महाराजाको पञ्चायतजस्तो नभै जनताकै लागि काम गर्ने थलोका रुपमा उपयोग गर्न आग्रह गरे । ‘यसलाई मैना र सुगा बोल्ने संसद नबनाऔं,’ उनले भने,‘हामी गम्भीर हौं, सरकारको गाम्भीर्यता, सरकारको डिग्नीटी र लोयल्टी यो संसदप्रति छ भन्ने देखाऔं ।’


उनले गत वर्ष १४ वटा ऐन पारित भएको तर यसपालि चारवटा मात्र भएको भन्दै अझ धेरै ऐन निर्माण तथा परिमार्जन आवश्यक रहेकाले त्यसमा पनि रचनात्मक भूमिकाको अपेक्षा गरिएको बताए ।


कोभिडविरुद्ध लड्नका लागि कांग्रेसले राखेको संकल्प प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिंदै उनले कोभिडविरुद्ध लड्न सम्भव भएको भन्दै सबै एकिकृत भए मात्र त्यो सम्भव रहेको उल्लेख गरे ।


‘आँसु पिएर पनि कोरोना जित्छौं’
विश्वयुद्धका समयमा बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलले संसदलाई सम्बोधन गरेको प्रसँग कोट्याउँदै उनले विश्व महामारीका बेला प्रदेशमा पनि कोरोनामाथि विजय प्राप्त गर्न सकिने बताए ।


‘कोरोनाविरुद्ध विजय प्राप्त नगरिकन मानवताकै अस्तित्व सम्भव छैन,’ उनले भने,‘आँसु, पसिना बगाएर पनि यसमाथि विजय हासील गर्न तयार छु । तर यसका लागि हामी सबै एकतावद्ध हुनु जरुरी छ ।’

उनले त्याग तपस्या गरेर कोभिडलाई जित्ने काम गर्न पनि सांसदहरुसँग आग्रह गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी