लमजुङको दूधपोखरी संरक्षणमा प्रदेश सरकारको चासो

  • ख-
  • ख+

लमजुङ । लमजुङका उच्च पहाडी भेगमा रहेका पर्यटकीय ताल संरक्षण तथा प्रवद्र्धनका निम्ति गण्डकी प्रदेश सरकारले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । चालू आवमा काम सम्पन्न हुने गरी प्रदेश सरकारले ताल संरक्षण तथा विकास प्राधिकरण कास्कीमार्फत सो बजेट विनियोजन गरेको हो ।

प्रदेश सरकारले जिल्लाको दूधपोखरी, इलमपोखरी, मेमेपोखरी र बराहपोखरी संरक्षण तथा मर्मत संहारका लागि बजेट विनियोजन गरेको हो । प्रदेश सरकारले इलमपोखरी मर्मत सम्भार तथा संरक्षणको निम्ति पाँच लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै मेमेपोखरी मर्मत सम्भार तथा संरक्षणका लागि पाँच लाख, दूधपोखरी मर्मतसम्भार तथा संरक्षणको निम्ति पाँच लाख र बराहपोखरी संरक्षण तथा मर्मत सम्भारको लागि पाँच लाख रुपैयाँ विनियोजन गरेको हो ।

जिल्लाको उच्च पहाडी भेगमा रहेका उक्त तालहरू धार्मिक पर्यटकीय हिसाबले महत्वपूर्ण रहेका छन् । प्रत्येक वर्षको जनैपूर्णिमाको अवसरमा दूधपोखरीमा मेला लाग्ने गर्दछ भने वैशाख पूर्णिमाको अवसरमा बराहपोखरीमा तीर्थालुहरूको भीड लाग्ने गर्दछ ।
उक्त तालहरूको उचित संरक्षण र प्रवद्र्धन गरी आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण गर्न प्रवद्र्धनात्मक कार्यक्रम तय गरेको प्रदेश सरकारले जनाएको छ । जिल्लाकै उत्कृष्ट गन्तव्यको रूपमा प्रचारप्रसार गरी विशेष मेलाभन्दा बाहेक पनि पर्यटकहरू पुग्नसक्ने गरी तालहरूको प्रवद्र्धनमा सरकार लागिपरेको हो ।

जिल्लाका पर्यटकीय सम्पदा संरक्षण, पदमार्ग निर्माण तथा तालहरूको संरक्षणका निम्ति पनि बजेट विनियोजन भएका छन् । पर्यटन प्रवद्र्धनमा अघिल्ला वर्षमा काम सुरु भएका केही पर्यटकीय सम्पदाहरूको थप प्रवद्र्धन र विकासका निम्ति प्रदेश सरकारले बजेट विनियोजन गरी रातो किताबमा प्रकाशन गरेको हो । सोही क्रममा प्रदेश सरकारले पाउदी–राइनास–गौँडा जोर्ने–इलमपोखरी–लिपे–दोर्दीको दामराङ–नौथर शेरासम्मको पदमार्गको लागि पनि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सो पदमार्गमा अघिल्लो आर्थिक वर्षमा समेत बजेट विनियोजन भई पदमार्ग निर्माणको काम सुरु भइसकेको छ ।

यसैगरी पदमार्ग निर्माणअन्तर्गत चितीको हिलेटक्सार–बराहपोखरी–भुलभुले पदमार्गका निम्ती पनि थप १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत खर्च हुने गरी बजेट विनियोजन भएको हो । सोसँगै प्रदेश सरकारले राईनास–३, रेग्मी डाँडामा रहेको पर्यटकीय तथा ऐतिहासिक महत्वको झाँक्रीडाँडा संरक्षणका निम्ति थप १५ लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ । पर्यटन कार्यालय पोखरामार्फत काम हुने गरी प्रदेश सरकारले सो बजेट विनियोजन गरेको हो ।
गण्डकी प्रदेश सरकारद्वारा जिल्लाका विभिन्न १२ वटा पार्क निर्माण तथा प्रवद्र्धनका निम्ति चालू आवमा काम सम्पन्न हुने गरी १२ वटा हरित पार्क निर्माणका लागि पनि ९० लाखभन्दा बढी रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी