
दमौली: पत्रकारिताका क्षेत्रको विकासमा विशिष्ट योगदान दिएको भन्दै नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले शाखाका छ जना पूर्व अध्यक्षलाई विभिन्न पुरस्कार दिने निर्णय गरेको छ ।
शाखाको आइतबार सम्पन्न बैठकले महासङ्घमा स्थापित सुरज गुरुङ स्मृति पुरस्कार, टिकानिधी ढुङ्गाना पुरस्कार र भर्लेली केबलबहादुर स्मृति पुरस्कार पूर्व अध्यक्षहरुलाई प्रदान गर्ने निर्णय गरेको हो ।
सुरज गुरुङ स्मृति पुरस्कार–२०७४ मुक्तिनाथ खनाल, २०७५ प्रकाशचन्द्र भट्टराई र २०७६ डम्बर बहादुर अधिकारीलाई प्रदान गरिनेछ ।
पुरस्कारको राशी रु पाँच हजार रुपैयाँ छ । टिकानिधी ढुङ्गाना पुरस्कार–२०७५ विश्वबन्धु भण्डारी र २०७६ प्रदीप काफ्लेलाई प्रदान गर्ने निर्णय भएको शाखाका सचिव उज्ज्वल पौडेलले जानकारी दिए । पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ । यसैगरी १० हजार राशीकै भर्लेली केबलबहादुर स्मृति पुरस्कार प्रेमप्रसाद पौडेललाई प्रदान गरिने भएको छ ।
माघ १३ गते आयोजना हुने शाखाको साधारणसभाको अवसरमा उक्त पुरस्कारहरु प्रदान गरिने महासङ्घका अध्यक्ष ओमकार आचार्यले जानकारी दिए । बैठकले शाखाको साधारणसभाको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ ।
शाखाका उपाध्यक्ष नारायण खड्काको संयोजकत्वमा मञ्च व्यवस्थापन, उपाध्यक्ष सोनी शर्माको संयोजकत्वमा स्वागत तथा सम्मान, सचिव उज्ज्वल पौडेलको संयोजकत्वमा प्रचारप्रसार र कोषाध्यक्ष प्रताप रानाको संयोजकत्वमा खाजा व्यवस्थापन उपसमिति गठन गरिएको छ ।