‘५ घण्टा लाईन, तर हात लाग्यो शून्य’

  • ख-
  • ख+


सञ्जय श्रेष्ठ
दमौली

भदौ १५
व्यास ९ का कपिल गुरुङ धान कृषक हुन् । वर्षामा रोपेको धान गोड्नका लागि तम्तयार भैसक्यो । तर गोड्ने बेला चाहिने युरिया मल कहिले आउने अत्तोपत्तो थिएन । अकस्मात उनले आईतबार दमौलीमा मल आएको सुने । भोलिपल्टै मल लिन बिहान दौडेर आएका उनी पाँच घण्टा लाईन बसे ।


नवीन उपभोक्ता सहकारी दमौलीमा लागेको किसानको लाईन

अघि लाईनमा बसेकाले मल लगेकाले आस गर्दै बसेका उनी तब झल्याँस्स भए, जब उनले मल सकिएको थाहा पाए । ‘यही बेला हो मल चाहिने,’ उनी भन्छन्,‘अब चाहिएको बेला नपाए पछि उब्जाउ पो कसो होला र ?’

आशै आसामा निराशा
कृषि सामग्री कम्पनीमा मल सकिएको गत वैशाखमै हो । सहुलियतको सरकारी मल आपूर्ति गर्ने कम्पनीले सहकारीमार्फत मल बाँडे पनि सकिएको मल आउने छाँटकाँट छैन । त्यसैले सबै डिपो खाली छन् । नेपालमा विशेषगरी साल्ट ट्रेडिङ कम्पनी र कृषि सामग्री कम्पनी गरि दुई वटा निकायले मल खरिद विक्री गर्दै आएकोमा हाल भारत तथा चाईनाबाट आयात ठप्प भएकै कारण तनहुँका किसानलाई खेती लगाउने समयमा मल अभाव भएको हो ।

मल सकिएपछि नवीन उपभोक्ता सहकारी

भदौ असोजको सिजनमा १२०० भन्दा धेरै मल बिक्री गर्ने पसलले माग गरे अनुरुप आयात नभएको दमौलीको नवीन उपभोक्ता सहकारी संस्थाका संचालक अतिन्द्र न्यौपानेले जानकारी दिए । ‘हामीले डिपोमा माग गरे अनुरुप अत्यन्तै कम मल पाईने भएकाले दिनमा सयौं किसान लाईन बसेर रित्तो हात फर्किने गरेका न्यौपानेले बताए ।

‘ट्रक दुर्घटनाको फाइदा’
कृषि सामग्रीमा मल आउन महिनौं लाग्न सक्ने अड्कलबाजीका बीच दमौलीमा आईतबार एक सय बोरा मल भित्रियो । पोखराका लागि जाँदै गरेको मालवाहक ट्रक दुर्घटनामा परे पछि मल दमौली भित्रिएको हो ।

कृषि सामग्री कम्पनी लिमिटेड दमौली


त्यहाँ भएको चार सय बोरा मल नयाँ ट्रक खोजेर लैजानुपर्ने भए पछि कम्पनीले बरु जिल्लाभित्रै बिक्री गर्ने निर्णय ग¥यो । त्यही निर्णय पछि आईतबार मल आयो । तर माग धेरै अनि आपूर्ति कम हुँदा आईतबार केहीले मल लगे पनि सोमबार पाउने आशामा आएका धेरै रित्तै हात फर्किए । ‘हामीलाई सय बोरा मल आएको थियो,’ नवीन सहकारीका सञ्चालक न्यौपानेले भने,‘आएको बाँड्दाबाँड्दै सकियो ।’


दिनमा पाँच देखि सात सय बोरासम्मको माग रहेको संचालक बताउँछन् । ‘पाँच टन मल अर्डर भैसकेको छ,’ उनले भने,‘अब अर्को पटक नआउँदासम्म बिक्री गर्न सकिने अवस्था छैन ।’


‘टेण्डरमा ढिलाईले समस्या’
कृषि सामग्री कम्पनीले यसवर्ष समयमै मल दिने घोषणा गरेको थियो । तर कम्पनीको टेन्डर प्रक्रिया केही ढिला भएको र कोभिडको लक डाउनका कारणले आपूर्तिमा समस्या देखिएको कम्पनीको भनाई छ। ‘तर सरकारले अब नयाँ निर्देशन दिएकाले केही चाँडो होला भन्ने आशा छ,’ कम्पनीका दमौली शाखा प्रबन्धक बलबहादुर पन्तले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी