संगठन विस्तारका लागि बाबुराम तनहुँमा, भेटे कांग्रेस तथा नेकपाका नेता

  • ख-
  • ख+

दमौली : जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले तनहुँका विभिन्न दलका नेता कार्यकर्तासँग भेट गरेका छन् ।

सरकारविरुद्धको सभाको नेतृत्वका लागि पोखरा आएका भट्टराईले बिहिबार विहान आफ्ना नेता कार्यकर्तासहित तनहुँमा कांग्रेस र नेकपामा आवद्ध नेता कार्यकर्तालाई समेत भेटेका थिए ।


जनता पार्टीसँग एकिकरणपछि तेश्रो शक्ति बनेको दलका नेतासँग अन्य दलका नेता कार्यकर्ताको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पार्टी नेतृ एवं पत्नी हिसिला यमीसँगै आएका भट्टराईसँग समय नै मागेर केही दलका नेताले भेटेका थिए भने केही उनले कार्यकर्तालाई सम्बोधन गरेको कार्यक्रममा नै सहभागी थिए ।


भट्टराईले भेटका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी शक्तिको आडमा सोचेर जानेर नै संसद विघटन गरेकाले त्यसलाई सच्याउन लाग्नुपर्ने भन्दै राजनैतिक ध्रुवीकरणको आवश्यकता औंल्याएका थिए । उनले नेकपा विभाजन भैसकेको र कांग्रेसमा पनि दुई धार प्रष्टसँग देखिएको भन्दै अब पार्टीले वैकल्पिक धारको नेतृत्व गरेर अघि बढ्दै वैकल्पिक शक्ति बन्न सक्ने बताए ।


डा. भट्टराईले पार्टीको संगठनमा आउन चाहने विभिन्न दलसम्बद्ध नेता कार्यकर्ता तथा विद्यार्थीसँग भेटघाट पनि गरेको पार्टीका केन्द्रीय सदस्य देवेन्द्र थापाले पुष्टि गरे । ‘पार्टीका नेता कार्यकर्तालाई भेटेर निर्देशन दिने कार्यक्रम थियो,’ उनले भने,‘तर अरु दलका नेता कार्यकर्ताले पनि उहाँसँग भेट्ने इच्छा गरेकाले भेटवार्ता भएको छ ।’


पार्टीका नेता एवं पूर्व मन्त्री स्वर्गीय भीमप्रसाद गौतमको परिवारलाई समेत भेट्न पुगेका भट्टराईले त्यहाँ पनि अन्य दलका नेता कार्यकर्तासँग पनि भेट गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्