
दमौलीः नेकपाको पार्टी ध्रुवीकरण तीव्र भैरहँदा तनहुँमा दुई खेमाबीच शक्ति प्रदर्शनको शिलशिला जारी छ । औपचारिक मैदानमा दाहाल–नेपाल समूहले पार्टी अध्यक्ष केपी ओलीको कदमको विरोधमा पार्टी कार्यालयलाई आधार बनाएर निरन्तर कार्यक्रम गरे पछि त्यसलाई काउण्टर दिन ओली समूह पनि तातेको छ ।
उसले सोमबार केन्द्रीयस्तरका नेतालाई दमौलीमा उतारेर जिल्लामा आफ्नो समूह कमजोर नभएको सन्देश दिने प्रयास गरेको छ । यस अघि कार्यकर्तास्तरमा गुटबन्दी बढाए पनि ओली समूहले ठूला गतिविधि र कार्यक्रम भने गरेको थिएन ।
सोमबार नेकपा पार्टी कार्यालयमा आयोजना गरिएको कार्यकर्ता भेलामा पार्टीका स्थायी कमिटी सदस्यहरु टोपबहादुर रायमाझी, पृथ्वीशुब्बा गुरुङ र किरण गुरुङका साथै गण्डकी प्रदेश इञ्चार्ज खगराज अधिकारीले सम्बोधन गर्नेछन् ।
यस अघि नेपाल–दाहाल समूहले निरन्तर गतिविधि गरेर कार्यकर्तालाई परिचालन गरे पछि ओली समूहले आफ्ना पक्षका कार्यकर्तालाई गोलबन्द गरेर शक्ति बढाउने प्रयास गरेको छ ।
कार्यक्रममा जिल्लाभरका संगठित सदस्यलाई बोलाइए पनि सभा जस्तै गरेर भने कार्यकर्ता नबोलाइएको पार्टी केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । ‘यसलाई आम सभा होइन कार्यकर्ता भेलाको रुपमा लिएका छौं,’ उनले भने