कोरोना ‘हटस्पट’ बन्दै मध्यपुर थिमि नगरपालिका

  • ख-
  • ख+

भक्तपुर । मध्यपुर थिमि नगरपालिका क्षेत्र भक्तपुरमा कोरोना भाइरस संक्रमणको हटस्पट बन्ने खतरा बढेको छ। यहाँका चार नगरपालिकामध्ये मध्यपुर थिमिका बासिन्दा सबैभन्दा बढी कोरोना भाइरस संक्रमित भएका छन्।

बिहीबारसम्म मध्यपुर थिमिका ७१ जनालाई कोरोना भाइरस संक्रमण भएको छ। बिहीबार भक्तपुरका ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा मध्यपुर थिमि नगरपालिका मात्रै ६ जना रहेका छन्। बाँकी दुईजना भने सूर्यविनायक नगरपालिकाका रहेका छन्।

मध्यपुर थिमि नगरपालिका अनुसार नगरका नौ वडामा संक्रमित भेटिएका छन्। बुधबारसम्म वडा नम्बर ३ र १ का सबैभन्दा बढी संक्रमित छन्। वडा नम्बर ३ का ३२ जना संक्रमित हुँदा १ वडाका १३ जना रहेको मध्यपुर थिमि नपा १ का वडा अध्यक्ष सुरज खड्का बताउँछन्।

उनका अनुसार वडा नम्बर ५ मा ७, वडा नम्बर ७ मा ५, वडा नम्बर ९ का ४, वडा नम्बर २ का २ र वडा नम्बर ४, ६ र ८ का १÷१ जना संक्रमित भएका छन्।

संक्रमितमध्ये ८ जना कोरोना भाइरसलाई जितेर घर फर्किएका छन्। २९ जना होम आइसोलेसनमा बसेको वडा अध्यक्ष खड्काले जानकारी दिए। त्यस्तै २० जनाको राजधानीका विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।

‘मध्यपुर थिमिका ३ जना संक्रमित भने सम्पर्क बाहिर छन्’, उनले भने, ‘दुई जनाको सम्पर्क माध्यम नै छैन। एकजनाको मोबाइल अफ छ।’

उनका अनुसार नगर क्षेत्रका संक्रमितहरुको उपचारको लागि नगरपालिकाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा २४ शैय्याको आइसोलेसन वार्ड बनाएको छ। तर मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेको उक्त अस्पताल नै नगरको समुदायमा कोरोना भाइरसको संक्रमण फैलाउन जिम्मेवार रहेको नगरवासीले भनाइ रहेको छ।

उक्त अस्पतालमा कोरोना भाइरस संक्रमणको पीसीआर परीक्षण हुन्छ। त्यसैले उक्त अस्पतालमा उपचार गराउन पुगेका बिरामी तथा बिरामीका आफन्तलाई पीसीआर परीक्षण गराउन अस्पताल पुगेका संक्रमितहरुले संक्रमण सारेको नगरवासी बताउँछन्।

स्थानीय रमेश प्रजापतिले पीसीआर परीक्षण गर्ने अस्पतालले जनस्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गर्ने तथा सामाजिक एवं भौतिक दूरी कायम गर्ने जस्ता सामान्य कुरामा ख्याल नगर्दा सिंगो नगरभर संक्रमण फैलिएको आरोप लगाए।

‘उक्त अस्पतालकै चार जना स्टाफ नर्स र चार जना सहयोगी कर्मचारीहरुलाई कोरोना भाइरस संक्रमण हुनु यसैको उदाहरण हो’, प्रजापतिले भने, ‘संक्रमित एक महिला कर्मचारीले आफ्नै बुबालाई समेत कोरोना भाइरस सारिन्।’

मध्यपुर थिमि नपा ७ नगदेशकी २७ वर्षीय उक्त अस्पतालकी ल्याबकी कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङको आधारमा परीक्षण गर्दा उनका ५६ वर्षीय बाबुलाई पनि संक्रमण पुष्टि भएको हो। अहिले दुवै होम आइसोलेसनमा रहेका छन्।

चार जना स्टाफ नर्स र चारै जना सहयोगी कर्मचारी संक्रमित भइसकेपछि अस्पतालको आकस्मिक सेवाबाहेक सबै बन्द गरिसकिएको छ। तैपनि उक्त अस्पताल पुगेकाहरुमा संक्रमण पुष्टि हुने क्रम रोकिएको छैन।

मध्यपुर थिमि बस्ने तर निजी अस्पतालमा काम गर्ने ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

त्यस्तै महानगरीय प्रहरी वृत्त ठिमीमा कार्यरत एकजना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भयो। उनलाई संक्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङको आधारमा कोरोना परीक्षण गर्दा वृत्तसँगैका एक पुरुष र दुई महिला गरी तीन् स्थानीयलाई पनि संक्रमण पुष्टि भयो।

मध्यपुर थिमि नगरपालिका ३ कौशलटारका एकै परिवारका दुई दिदीबहिनीलाई संक्रमण पुष्टि भएको थियो।

मध्यपुर थिमि नपाको समुदायस्तरमै कोरोना भाइरस संक्रमण फैलिइसकेको स्वास्थ्यकर्मीहरु दावी गर्छन्। घरमै बस्ने गृहिणी महिलाहरुलाई समेत संक्रमण पुष्टि हुन थालेको भन्दै स्वास्थ्य कार्यालय भक्तपुरले मध्यपुर थिमि नपाको समुदायस्तरमै संक्रमण फैलिएको दावी गरेको हो।

कार्यालयका प्रमुख कृष्ण मिजारले समुदायस्तरमै कोरोना भाइरस संक्रमण फैलिएकोले मध्यपुर थिमि र सूर्यविनायक नपाको बढी संक्रमित भेटिएका वडामा समुदायस्तरमै कोरोना भाइरस परीक्षण गर्ने योजना बनाएको जानकारी दिए।

तर सम्बन्धित नपाले अहिल्यै समुदायस्तरमा कोरोना परीक्षण गर्दा स्थानीयमा नकारात्मक सन्देश जाने र उनीहरुमा थप त्रास बढ्ने प्रतिक्रिया दिएको उनले जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी