
दमौलीः प्रतिनिधि सभा विघटनको प्रधानमन्त्रीको कदमविरुद्ध देशव्यापी आन्दोलनमा उत्रिएको कांग्रेसले शनिबार तनहुँका चारवटै प्रदेश निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ । तर केन्द्रीय समितिको पुष २७ को बैठक र देशैभर तय कार्यक्रमका कारण केन्द्रीय नेताको भने कमजोर उपस्थिती रहने देखिएको छ ।
तनहुँमा प्रदेश निर्वाचन क्षेत्र १ (१) को बाईसजाँघर र १ (२) को आँबुखैरेनीमा सभा हुनेछ । यसैगरी २ (१) खैरेनीटार तथा २(२)को घिरिङ देउरालीमा सभा तय गरिएको छ ।
बाइसजाँघरमा हुने सभालाई केन्द्रीय सदस्य गोविन्द भट्टराईले सम्बोधन गर्नेछन् । खैरेनीटारको सभामा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले सम्बोधन गर्ने तय भएको छ ।
अन्य सभाहरुमा भने जिल्लास्तर र क्षेत्रका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको कांग्रेसका कार्यालय सचिव राजेन्द्र अर्यालले जानकारी दिए ।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमविरुद्ध भन्दै कांग्रेसले जिल्ला, क्षेत्र नगर र वडातहसम्म विरोध कार्यक्रम लैजाने निर्णय गरेको थियो ।