
दमौलीः कोरोना संक्रमणपश्चात अक्सिजन कम भए पछि पूर्व गृहमन्त्री एवं कांग्रेस पूर्व सह महामन्त्री गोविन्दराज जोशी अस्पताल भर्ना भएका छन् ।
केही दिनयता अक्सिजनको कमी महसुस गरे पछि शुक्रबार उनको कोरोना परीक्षण गरिएकामा पोजिटिभ रिपोर्ट आएको थियो ।
त्यसयता घरमै आईसोलेसनमा रहेका नेता जोशीलाई स्वासप्रस्वासमा कठिनाई भए पछि सोमबार अस्पताल भर्ना गरिएको उनका छोरा दीपकराज जोशीले जानकारी दिए । ‘घरमै राखेर उपचार गर्दा हुन्छ भनेकाले राखेका थियौं,’ उनले भने,‘तर अक्सिजनको कमी देखिएकाले आज अस्पताल भर्ना गरेका छौं ।’
नेता जोशी अर्का पूर्व गृहमन्त्री एवं कांग्रेस नेता कृष्णप्रसाद सिटौला भर्ना भएको ह्याम्स अस्पतालमै उपचारमा छन् ।
उनको परिवारले नेता जोशीको नजिकको सम्पर्कमा रहेका सबैले आवश्यकता अनुसार परिक्षण गर्न तथा सावधानी अपनाउन अनुरोध पनि गरेको छ ।