म्याग्दे भवन शिलान्यासः केन्द्र विवादमा पूर्णविराम

  • ख-
  • ख+

म्याग्देः साविक मनपाङ, छाङ तथा जामुने गाविस गाभिएर म्याग्दे गाउँपालिका बने पछि शुरु देखि नै केन्द्र कहाँ राख्ने विवाद देखिन्थ्यो । जामुनेका बासिन्दा आफ्नो अनि थर्पु क्षेत्रका बासिन्दा आफ्नो ठाउँमा राख्ने अडानमा बसे पछि असन्तुष्टि सडकसम्मै पोखियो ।


तर केन्द्र तोकिएको भवन बन्न थाले पछि अब औपचारिक रुपमै केन्द्रको स्थान विवादले टुंगो पाएको छ । १० करोड दश करोड ३५ लाख ६९ हजार आठ सय ८४ रुपैयाँको लागतमा निर्माण हुन लागेको भवनको पुर्व सभामुख तारानाथ रानाभाटले शिलान्यास गरेसँगै अब गाउँपालिकाको कार्यालय भवन म्याग्दे ४ नारिंगेमा रहने कुराले व्यवहारिकता ग्रहण गरेको छ ।

२०७६ सालमै गाउँपालिकाले गाउँ सभामार्फत विवाद टुंगो लगाएको थियो । गाउँपालिकाको केन्द्र नारिंगे तथा अन्य संरचना बेलटारी क्षेत्रमा रहने गरी टुंगो लगाएयता भवन भने बनिसकेको थिएन ।


दुई वर्षभित्र सक्ने लक्ष्यका साथ थालिएको भवनका लागि चालु आर्थिक वर्षमा छ करोड ८५ लाख ५० हजार २५ र आगामी आर्थिक वर्षमा तीन करोड ५० लाख १९ हजार आठ सय ५८ रुपैयाँ खर्च गर्ने लक्ष्य रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अधिकारीले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष मायादेवी रानाले भवन निर्माण पछि गाउँपालिकाले भाडाको भवनमा बस्नु नपर्ने भन्दै सहजता हुने बताइन् ।


कार्यक्रममा गण्डकी प्रदेश सभासद डोवाटे विक र सरिता गुरुङ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने, शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख किसान गुरुङ, जिल्ला समन्वय समिति तनहुँका उपप्रमुख पवित्रादेवी पौडेल, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्य, नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आले, नेकपाका नेता अतिन्द्रकेशरी न्यौपाने लगायतले भवन निर्माण सफलताको शुभकामना दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी