‘अब राम्चेका विद्यार्थी चिसोबाट कठ्यांग्रिनन् ‘

  • ख-
  • ख+

दमौलीः न्यानो कपडा अभावमा चिसोबाट कठ्यांग्रिदै पढ्दै आएका व्यास ११ तनहुँसुर राम्चेका बालबालिकाले अब त्यो समस्याबाट मुक्ति पाएका छन् ।

चिसोका कारण विद्यालयमा पढ्न कठिनाई भोग्दै आएका विपन्न समुदायका ३० बालबालिकाबारे थाहा पाए पछि इनरह्विल क्लब अफ दमौलीले उनीहरुलाई सुईटर, टोपी तथा स्टेशनरी सहयोग गरेको थियो । उनीहरुलाई बुधबार विद्यालयमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले अब बालबालिकाले चिसोबाट कठ्यांग्रिनु नपर्ने बताए ।


उनले बालबालिकालाई ३० थान टोपी तथा रोटरी क्लब अफ दमौलीका पूर्व अध्यक्ष रजिनलाल श्रेष्ठले स्टेशनरी प्रदान गरेका थिए । बालबालिकाको कठिनाईबारे समाजसेवी खड्गबहादुर अधिकारीबाट थाहा पाए पछि सहयोग गरिएको सचिव शर्मिला श्रेष्ठले जानकारी दिइन् ।


कार्यक्रममा क्लबकी अध्यक्ष आशाकुमारी बानियाँले सहयोग आवश्यक परेको थाहा पाएकाले सघाएको बताइन् । पूर्व अध्यक्ष निर्मला मल्लले जोसुकै पनि सहयोगको खाँचो परेकालाई सघाउँदै आएकामा विद्यालयबारे पनि थाहा भए पछि आफूहरुले सघाएको बताइन् ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद तिमिल्सना र प्रधानाध्यापक रश्मी गुरुङले सहयोगप्रति आभार प्रकट गरे । कार्यक्रममा निवर्तमान अध्यक्ष सरु श्रेष्ठ तथा उपाध्यक्ष मञ्जु थापालगायतको उपस्थिती थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी