संखुवासभाका ३ जनामा कोरोना स‌ंक्रमण देखिएपछि क्वारेन्टाइनबाट छाप्रोमा

  • ख-
  • ख+

संखुवासभा । संखुवासभाका ३ जनामा सोमबार कोरोना पुष्टि भयो । बिहीबार साँझसम्म पनि उनीहरूलाई क्वारेन्टाइन नजिकैको एउटा छाप्रोमा राखिएको छ । संक्रमित ३४ वर्षीय पुरुषले बिहीबारै सामाजिक सञ्जाल फेसबुकमार्फत गुनासो पोख्दै यस्तो स्टाटस राखेका छन्, ‘कोरोनाभन्दा मसानघाटको डर ।’

संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनबाट निकालेर नजिकै रहेको छाप्रोमा सारेको ४ दिन भइसक्दा पनि स्वास्थ्य सेवा त के परामर्शसमेत नपाएको उनको गुनासो छ । आफू बसेको छाप्रो नजिकै शवदहन गरिरहेको भिडियो पनि उनले फेसबुकमार्फत सार्वजनिक गरेका छन् । वैदेशिक रोजगारीबाट आएका २ पुरुषले पनि जस्ता र भाटाले बारेको छाप्रोमा ३ रात बिताइसकेका छन् । संक्रमितलाई खुवाइने खाना पनि सामान्य रहेको उनीहरूको गुनासो छ ।

धर्मदेवी नगरपालिका–४ पिलुवाखोलामा क्वारेन्टाइनमा रहेका धर्मदेवी नगरपालिका–४ का ३४ वर्षीय पुरुष र चैनपुर नगरपालिका–११ का २४ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । त्यसैगरी जिल्ला प्रहरी कार्यालयको क्वारेन्टाइनमा रहेका २२ वर्षीय पुरुषमा समेत कोरोना पुष्टि भएको छ । २२ वर्षीय प्रहरी पनि जिल्ला प्रहरी कार्यालयको क्यारेन्टाइनमा नै छन् । संखुवासभामा सरकारी र निजीसहित २० वार्डको आइसोलेसन स्थापना भए पनि संक्रमितले जोखिमपूर्ण स्थानमा बास बस्नु परेको छ ।

नाम मात्रका आइसोलेसनका कारण संक्रमित असुरक्षित स्थापन बस्न बाध्य भएका संक्रमितहरूको गुनासो छ । संख्यात्मक रूपमा देखिएका आइसोलेसन वार्ड प्रयोग गर्ने समयमा प्रयोगविहीन बनेका छन् । आइसोलेसन निर्माणमा स्थानीयसँग समन्वय नहुँदा संक्रमण बढेको आशंकामा स्थानीयले आइसोलेसनको अबरोध गरेका हुन् ।

प्रदेश सरकारले निर्माण गरेका सबै आइसोलेसन वार्ड भरिएपछि जिल्लामै राखेर उपचार गर्न भने पनि संक्रमित क्वारेन्टाइन नजिकैको छाप्रोमा बस्न बाध्य छन् । जिल्ला अस्पतालले हिमालय किरण पब्लिक क्याम्पसमा बनाएको १० बेडको आइसोलेसनस्थानीयको विरोधपछि प्रयोगमा आउन सकेको छैन । सरकारले साउन २५ बाट विद्यालय तथा क्याम्पसबाट क्वारेन्टाइन तथा आइसोलेसन हटाउने निर्णय गरेपछि आइसोलेसन प्रयोगमा स्थानीयले अवरोध गरेका हुन् ।

यता बिहीबार साँझसम्म जिल्ला प्रशासन कार्यालय संखुवासभामा जिल्ला विपद् व्यवास्थापन समितिको बैठकले संक्रमितलाई आइसोलेसनमा ल्याउने निर्णय गरेको छ । बैठकले हिमालय किरण पब्लिक क्याम्पसमा रहेको आइसोलेसनमा संक्रमितलाई राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए । सुरक्षा व्यवस्थालाई बलियो बनाएर आइसोलेसन सञ्चालन गरिने र संक्रमितलाई बिहीबार रातिसम्ममा आइसोलेसनमा ल्याइने प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी