वैदेशिक रोजगारीमा जानेका लागि प्रशासनमा श्रोत केन्द्र

  • ख-
  • ख+

दमौलीः वैदेशिक रोजगारीमा जानेका लागि आवश्यक जानकारी दिन जिल्ला प्रशासन कार्यालय तनहुँमा आप्रवासी श्रोत केन्द्र स्थापना गरिएको छ । सुरक्षित वैदेशिक रोजगारका क्षेत्रमा कार्यरत सामी परियोजनाले वैदेशिक रोजगारीमा जान राहदानी बनाउन लागेका व्यक्तिहरुलाई विदेश जानुपूर्व आवश्यक प्राविधिक तथा सचेतनामूलक जानकारी दिनेछ ।


केन्द्रको जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गरे । उनले वैदेशिक रोजगारीमा जाने तथा फर्केकाका लागि पनि विशेष ध्यान दिनुपर्ने बताए । उनले कोभिडबाट समस्यामा परेका कामदारलाई पनि राहत दिइनुपर्ने बताए ।


तनहुँका चार तहका तीन वडामा परियोजनाले काम गरिरहेको छ । परियोजनाले विदेश जान चाहनेका लागि विभिन्न किसिमका सीपमूलक तालिम प्रदान गर्दै आइरहेको छ । हेल्भेटास र नेपाल सरकार समेतको सहकार्यमा सञ्चालित परियोजनाअन्र्तगत तनहुँमा ग्रामीण सशक्तिकरण समाजले स्थानीय सरकारसँगको सहकार्यमा व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र भानु नगरपालिकामा परियोजनाले काम गरिरहेको छ ।


कार्यक्रममा व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले विदेश जाने र गएर आएकालाई समेत सघाउनुपर्ने बताए । सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले वैदेशिक रोजगारीमा ठगिएका उजुरी आउने क्रम बढेको भन्दै परियोजनाले पर्याप्त जानकारी दिएर युवालाई ठगिनबाट जोगाउनुपर्ने सुझाव दिए ।


कार्यक्रममा जिल्ला समन्वय उप प्रमुख पवित्रा पौडेल, म्याग्दे गाउँपालिका अध्यक्ष माया रानालगायतले परियोजनाबारे टिप्पणी गरेका थिए ।
परियोजनाकी कार्यक्रम संयोजक लुना रानाले परियोजनाले सुरक्षित वैदेशिक रोजगारीका पक्षमा परियोजना र श्रोत केन्द्रले प्रभावकारी भूमिका खेलेको बताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी