खाद्यान्न पसल बिहान ६ बजेदेखि राति ८ बजेसम्मै खोल्नुपर्छ, तर…

  • ख-
  • ख+

काठमाडौं, ८ भदौ । नेपाली कांग्रेसका सांसद गगन थापाले अहिले व्यवस्था भएबमोजिम खाद्यान्न पसल दिनको १–२ घण्टा मात्र खोल्न दिँदा झन् भीडभाड बढेकाले व्यवस्थित गर्न सुझाव दिएका छन् ।

पसल बिहान ६ देखि राति ८ सम्म खोल्नु पर्ने, सामान किन्न स्थानीय तहले एक घर एक पासको व्यवस्था गर्ने गर्दा घर पिच्छे सामान पनि पाइने र भीड कम हुने उनको सुझाव छ ।

काठमाडौं उपत्यकामा बढ्दो संक्रमणलाई रोक्न महानगरले तत्काल गर्नुपर्ने कामका सन्दर्भमा आइतबार काठमाडौं महानगरपालिका कार्यालयमा गएर प्रमुख र महानगरका स्वास्थ्य विभागका प्रतिनिधि लगायतसँग छलफल गरी विभिन्न सुझाव दिएको उनले फेसबुकमार्फत जानकारी दिएका छन् ।

थापाले कन्ट्याक्ट ट्रेसिङबाट आएकाको पनि परीक्षण नभएको बताउँदै सबैको टेस्ट वडा÷टोलमै गर्ने व्यवस्था मिलाउन र परीक्षणको मात्रा बढाउन तथा व्यवस्थित बनाउन गर्न भनेका छन् ।

महानगरका मेयरसँग भेटेपछि थापाले फेसबुमा लामो स्टाटस लेखेका छन् । जुन यसप्रकार छ–

कोरोना महामारी रोकथाम र नियन्त्रणमा स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका र जिम्मेवारी छ । पछिल्ला दिनमा काठमाडौँमा तीव्र रूपमा संक्रमण फैलिएको छ । महानगरपालिकाले अग्रसरता लिएर कन्ट्याक्ट ट्रेसिङ, परीक्षण र आइसोलेसन लगायतको प्रभावकारी व्यवस्थापन गर्नसके यो गतिलाई धेरै हदसम्म न्यून गर्न सकिन्छ ।

बढ्दो संक्रमणलाई रोक्न महानगरले तत्काल गर्नुपर्ने कामका सन्दर्भमा हिजो कामनपा कार्यालयमा गएर कामनपा प्रमुख र महानगरका स्वास्थ्य विभागका प्रतिनिधि लगायतसंग छलफल गरी देहायका कुरामा ध्यानाकर्षण गरेको छु ।

१. काठमाडौँबाट प्रतिनिधित्व गर्ने संघीय र प्रादेशिक जनप्रतिनिधिसंग नियमित संवाद र समन्वय गरी आवश्यक सहयोग लिनुस् । हामी सँगै काम गर्न चाहान्छौं । तपाईँ सफल हुनुभनेको हामीले प्रतिनिधित्व गर्ने नागरिक सुरक्षित हुनु हो, त्यसैले नियमित रूपमा समन्वय गर्नुहोस् ।

२. महानगरभित्र कन्ट्याक्ट् ट्रेसिङ ढिला छ, त्यसमाथि साँघुरो रहेको छ, जसले हामीलाई झन् समस्याग्रस्त बनाउँछ । यसलाई चुस्त बनाउन अहिलेको जनशक्ति अपुग हुन्छ । यसलाई प्रभावकारी र चुस्त बनाउन तथा आवश्यक जनशक्ति थप गर्न ।

२. कन्ट्याक्ट् ट्रेसिङबाट आएकाको पनि परीक्षण भइरहेको छैन यी सबैको टेस्ट वार्ड÷टोलमै गर्ने व्यवस्था मिलाउन र परीक्षणको मात्रा बढाउन तथा व्यवस्थित बनाउन ।

३. अस्पतालको तयारी र व्यवस्थापन संघीय सरकारको दायित्व हो तर आइसोलेसनको जिम्मा स्थानीय सरकारले गर्नुपर्छ । काठमाडौँका अन्य नगरपालिकासंग सहकार्य गरी तत्काल मापदण्ड बमोजिमका सामुदायिक आइसोलेसन सेन्टरहरू कुनै प्रयोगमा नआएको भवनहरू लिएर तत्काल सुचारु गर्न ।

४. खाद्यान्न पसल दिनको १–२ घण्टा मात्र खोल्न दिंदा झन् भीडभाड बढ्ने हुन्छ । त्यसैले पसल बिहान ६ देखि राती ८ सम्म खोल्नुपर्ने, सामान किन्न स्थानीय तहले एक घर एक पासको व्यवस्था गर्ने जसले गर्दा घर पिच्छे सामान पनि पाइन्छ र भिड पनि नहुने हुन्छ ।

५. कोरोना संक्रमण संग जोडिएका विभिन्न सुचनाहरुलाई लिएर नगरवासी अलमलमा परेका छन् । नगरवासी अलमलमा परेका छन् । नगरवासीलाई अलमल नहोस् भन्नको लागि नागरिकलाई स्वास्थ्य लगायत कुनै पनि अफ्ठ्यारो पर्दा सम्पर्क र समन्वय गर्न वडा अनुसार निश्चित संयन्त्र बनाउन र सो को प्रभावकारी सम्प्रेषण गर्न ।

उच्च जोखिममा रहेको काठमाडौँलाई दुर्घटनाबाट बचाउन महानगरपालिकाले लिने अग्रसरता र प्रभावकारी व्यवस्थापन महत्त्वपूर्ण छ। हामी सबै सहयोग गर्न तयार छौँ । सबै तह र निकायसंग समन्वय गर्नुहोस् ।महानगरको संरचनालाई गतिशील बनाउनुहोस् । आवश्यक स्रोत र जनशक्ति परिचालन गर्नुहोस् । नागरिकको सुरक्षा नै हामी सबैको पहिलो प्राथमिकता हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी