नेपाल जेसिज महाधिवेशनः अरुणेश्वर उच्च मनोबलका साथ मैदानमा

  • ख-
  • ख+

बुटवलः भलबारी जेसिजको आतिथ्यमा आयोजित ४७ औं राष्ट्रिय महाधिवेशनमा आगामी नेतृत्वका लागि राष्ट्रिय अध्यक्षका उम्मेदवार अरुणेश्वर खनालको दाबेदारी बलियो देखिएको छ । राष्ट्रिय अध्यक्षका लागि यस अघि उम्मेदवारी दिएका सातमध्ये तीन जनाले प्रष्ट रुपमा खनालको पक्षमा समर्थन गर्दै उम्मेदवारी फिर्ता लिए पछि अहिले उनको पक्षमा माहोल बनेको छ ।


अर्का उम्मेदवार लालमणि भण्डारीसँग अध्यक्षको दौडमा रहेका उनलाई समर्थन गर्दै विकास मानन्धर, श्यामसुन्दर पौडेल, र गोकुल सापकोटाले उम्मेदवारी फिर्ता लिए पछि उच्च नैतिक बलका साथ उनी चुनावी मैदानमा उत्रिएका छन् ।
शुक्रबार हुने मतदानपूर्व आफूलाई बलियो रुपमा मैदानमा उतार्न खनालले भरमग्दुर प्रयास गरिरहेका छन् ।


तनहुँ भानु नगरपालिका चुँदीका खनाल चितवनको बिसहजारी जेसिजबाट प्रतिनिधित्व गर्छन् ।
गएको राष्ट्रिय महाधिवेशनमा झिनो मतान्तरले पराजित खनाल यसपाली पुरानो हारलाई बिर्सने दौडमा अघि बढ्दा भण्डारीको चुनौती उनका लागि कत्तिको भारी पर्ने हो यसै भन्न सकिने अवस्था त छैन तर अध्यक्षका धेरै उम्मेदवारको समर्थन र आफ्ना पक्षमा बढेको चुनावी माहोलले नेतृत्वमा आउने आत्मविश्वासले भने उनमा दरैसँग जरा गाडेको देखिन्छ ।


शुक्रबार हुने मतदानमा देशभरका एक सय ६० शाखाका मतदाताले दिने मतले खनाल वा भण्डारीमध्ये एकलाई नेता छान्नेछ । देशकै ठूलो युवा संगठन हाँक्नका लागि यो विजयीलाई ठूलो अवसर बन्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी