हजुरको तस्बिरमा मेरा आँखा ठोकिन्छन्

  • ख-
  • ख+

ईश्वरी श्रेष्ठ

मन भरि छचल्किएका पीडाहरू पोख्न सेतो कापीको पाना र निष्पट्ट कालो मसीको कलमको सहायता लिए, तब मेरो अन्तरमनमा सल्बलाएका भावनाहरू, हृदयमा कुन्ठित मनका तृष्णाहरु, आत्माले थेग्न नसकेका बिछोडका चोटले दिएका भावना रुपी छालहरूसँंग अक्षर रुपी महासागरमा डुबुल्की मार्दै छु ।

जन्मिएको ६ दिनमा भावीले निधारमा लेखिदिएको मेरो भाग्य न त जिन्दगीको दौडानले मेटाउन सक्यो न त थकाइको पसिनाले बगाउन सक्यो । बालापन कसरी बित्यो खासै पत्तो पाइनँ । बालापनमै तपाईसँग वैवाहिक जीवनमा बाँधिए, त्यही सम्बन्धलाई जिन्दगी जिउने बलियो आधार बनाएँ । सँगसँगै बनायौँ पारिवारिक चौतारी ।

त्यही चौतारीको शितल छायाँमा बस्ने तीब्र चाहनामा आज डढलो लागेको छ । सँगै जिउने र मर्ने कसम आज झुठो साबित भएको छ । म बाचुन्जेल मलाई खुसी, सुखी र प्रसन्न पार्ने हजुरको चाहनामा बादल लागेको छ ।

म कुन शब्दले सम्बोधन गरौँ मेरो राजा ? म के नामले पुकारौ हजुरलाई ? यो बिच्छिप्त मुटुलाई अझै सम्हाल्न सकेकी छैन । जति रोएपनि रित्तिन्न रहेछ आँसुको सागर तर पनि आँसुले निभाउन सक्दोरहेनछ पीडाको ज्वाला ।

लगभग ४९ वर्षको संयोगान्त जीवन र ४५ दिनको वियोगान्त क्षण म कसरी तुलना गरौं ? मलाई यो ४५ दिन ४५ युगभन्दा लामो लागेको छ । लाखौ कोसिस गर्दा पनि सम्झाउन सकेकी छैन आफूलाई अनि करोडौ कोसिस गर्दा पनि भुल्न सकेकी छैन हजुरलाई ।

त्यो यात्रा, त्यो साथ, त्यो स्नेह, त्यो सामिप्यता उफ ……. कहाँ सजाउ मैले ती क्षणहरुलाई ? आफ्नो अप्ठ्यारा पलहरु लुकाएर दुख्ने कुरा मलाई कहिले सुनाउनु भएन, मलाई बिझ्ने कुरा कहिले बोल्नु भएन । मैले कसरी बिर्सनु होला यो गुण ? कति शितल स्वभाव, कति सरल जीवन ! न अभावमा आत्तिनु भयो न भएर मात्तिनु भयो ।

लगभग ४९ वर्षको संयोगान्त जीवन र ४५ दिनको वियोगान्त क्षण म कसरी तुलना गरौं ? मलाई यो ४५ दिन ४५ युगभन्दा लामो लागेको छ । लाखौ कोसिस गर्दा पनि सम्झाउन सकेकी छैन आफूलाई अनि करोडौ कोसिस गर्दा पनि भुल्न सकेकी छैन हजुरलाई ।

कति मधुर वचन, न कहिले चर्को बोल्नुभयो न कहिले रिसाउनु भयो । मलाई बिर्सनको लागि एउटा कुनै बाहानासम्म पनि नदिइ जिन्दगीको यात्रामा मलाई एक्लै छोडी कहिल्यै नफर्किने गरी टाढा जानुभयो कहिल्यै नफर्किने गरी ।

रामायण, मुनामदन पढ्दा कस्तो मन छुने कहानी, के यो सत्य होला ? जस्तो लाग्थ्यो तर आज आफ्नै कथाले नयाँ मोड लिएको छ । म हरेक बिहान हजुरको चरण छोएर दिनको सुरूआत गर्थे अनि चरण छोएरै दिनको बिदाई गर्थे । अब मेरो लागि त्यो एउटा सम्झना मात्रै रह्यो । भित्तामा झुन्डिएको हजुरको तस्बिरमा कैयौं पटक मेरा आँखाहरू ठोकिन्छन् ।

लाग्छ अब हजुरका आँखाहरू चलबलाउँछन् अनि ती टपक्क मिलेका ओठहरु सलबलाउँछन् । तर अहँ ……. म निराश हुन्छु । ममताको भेल उर्लेर आउँछ । मुटु गाँठो पार्दै आँसु छचल्काउँदै म त्यहीं जान्छु, जहाँ हजुरसँग जिन्दगीका कैयौं दिन र रातहरु बिताएँ । त्यही कोठा त्यही पलङ्ग त्यही ओछ्यान तर फगत एक्लो शरीर मात्रै प्यार हृदयको गहिराइसम्म । अझै केही वर्षसँगै जिन्दगी बिताउदै हजुरको अपार पे्रममा पोखिने चाहना थियो तर बिधाताले मेरो निधारमा यति मात्रै लेखिदिएछ ।

तस्बिरलाई छातीमा टाँसेर धित मरुन्जेल रुन मन छ, बादल गर्जे जसरी चिच्याएर हजुरलाई पुकार्न मन छ । कति सुनाउन त कति सोध्न मन छ । के हजुर जाने ठाउँमा म जान हुन्न र ? हजुरसँगै म जान हुन्न र ? मलाई बिचैमा किन छोड्नु भयो ? अब मलाई कसले माया गर्छ ? एक पटक भेट्न पाए यिनै कुरा सोध्ने थिएँ । थाहा छ सधैको लागि बिदा गरेर फर्केकी छु तर मनले विश्वास नै गर्दैन । लाग्छ उहाँ आउनुहुन्छ । यतै कतै हुनुहुन्छ ।

तस्बिरलाई छातीमा टाँसेर धित मरुन्जेल रुन मन छ, बादल गर्जे जसरी चिच्याएर हजुरलाई पुकार्न मन छ । कति सुनाउन त कति सोध्न मन छ । के हजुर जाने ठाउँमा म जान हुन्न र ?

हुनत राम लक्ष्मण जस्ता मेरा छोराहरू छन्, लक्ष्मी सरस्वती जस्ता बुहारीहरू छन्, नारायण जस्ता ज्वाइँ र गङ्गा जमुना जस्ता छोरीहरू छन,् बासका मुना जस्ता नातिहरु छन्, इष्टमित्र, छरछिमेक सबै छन् तर …….. तर यी सबै साथमा हुँदाहुँदै पनि मणि हराएको नाग जस्तै बिछिप्त यो शरीर हजुरको यादमा एकोहोरिई रहेको छ, एक्लोपनको आभाष भएको छ ।

घरीघरी त लाग्छ ईश्वर पनि झुठ र निष्ठुर हुँदा रहेछन् सायद । के प्रार्थना गरिनँ होला ? के बिन्ती बिसाइनँ होला ? रात दिन भगवानसँग आफ्नो सिन्दुरको भिख मागिरहँे जीवन रक्षाको कामना गर्दै भगवानको चरणमा परिरहँे । जबसम्म चन्द्र, सूर्य, धर्ती र आकाश रहन्छ, तबसम्म म भगवानको दासी भैरहन्छु भनी करोडौं बिन्ती चढाएँ । तर निष्ठुरी भगवानले मेरो पुकार सुनिदिनु भएन । ओइलाएको बिरुवामा पानी हाल्दै गर्दा खुशी मौलाएको आभास गरे तर फगत त्यो मेरो आशाको किरण मात्रै भयो । अनि लाग्न थाल्यो यो संसारमा भगवानभन्दा सत्य सायद प्रकृति रहेछ । प्रकृति कति बलवान हुँदोरहेछ जसले सुन्दर सृष्टिको संरचना गर्यो उसैले सृष्टि संहार गर्दै जीवनलीला आफंैमा लिएर गयो ।

त्यो पार्थिव शरीरलाई प्रत्यक्ष जब आफ्नै आँखाले देखे तव पृथ्वी भासिए झै लाग्यो, दिमागमा सन्नाटा छायो, यो हुनै सक्दैन यो सपना हो जस्तो लाग्यो तर…..तर यथार्थलाई कसले टार्न सक्छ र ? जीवनको अन्तिम पटक अङ्गालो हाल्दै मुर्छा परुन्जेल रोएँ,स्पर्श गरँे हात समाउँदै लाख बिन्ती गरे उठ्नुस् न, घर जाऔ, केही त बोल्नुस् न राजा, एकचोटि आँखा खोल्नुु न । मेरो हृदयमा ज्वारभाटा दन्केको थियो । मेरो मलिन अनुहार समेत हेर्न नचाहने मान्छेले त्यो मेरो पुकार कत्ति सुन्नु भएनँ । मेरो बिन्तिको वास्तै नगरी चिर निन्द्रामा निदाइरहनु भयो निदाइरहनु भयो । कहिल्यै नउठ्ने गरी ……

जुन अग्निलाई साक्षी राखेर जीवनभरसँगै बाँच्ने कसम खाएका थियौँ त्यही अग्निलाई आफ्नो सर्वस्व खुसी सुम्पेर रित्तो हात घर फर्किदा म कति बिच्छिप्त थिएँ त्यो त पूरै शब्दकोशका शब्दहरूले पनि बयान गर्न सक्दैनन् ।

हरेक मोडमा हजुरको तस्बिर कल्पना गर्थे, हरेक नदी किनारामा हजुर उभिएको आभास हुन्थ्यो, प्रत्येक घुम्तिमा हजुर उभिएर हामीलाई पर्खी राखेको अनुभूति गर्थे तर यो फगत मेरो कल्पना मात्रै थियो । सत्य त यही थियो जन्म पछिको मृत्यु ।

म लाखौं लाख बिन्ती चढाउदै कोटि कोटि प्रणाम गर्छु ‘हे भगवान, मेरो प्राणको स्वर्गमा बास होस् र यस धर्तीमा मानव भएर कहिल्यै जन्म नहोस् र सधै तपाईहरूकै साथ रहोस् भगवान’ । हे मेरो प्राण ! हर हमेसा हजुरको आशिर्वाद हामीमा रहोस् । हजुरप्रति हार्दिक श्रद्घा सुमन ! ! !

व्यास – ०२, दमौली, तनहुँ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी