
दमौलीः प्रजातन्त्र सेनानी मोतिकुमार श्रेष्ठको काठमाडौंस्थित निवासमा मंगलबार राती निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
राणाशासनविरुद्ध कांग्रेसको नेतृत्वमा भएको बन्दीपुर कब्जा आन्दोलनमा तनहुँसुरमा जन्मिएका श्रेष्ठ त्यस क्षेत्रको नेतृत्वकर्ता मध्येका एक थिए । राणा सैनिकको गोली लागेर सँगै गएका आफ्नै गाउँका चार जनाको ज्यान गए पनि मोतिकुमार भने जोगिएका थिए । त्यसैले उनलाई जिउँदो शहीद पनि भन्ने गरिन्छ ।
बन्दीपुर कब्जाका क्रममा तनहुँका ६ जनाले ज्यान गुमाएका थिए ।
कांग्रेसको प्रजातान्त्रिक विचारसँग गहिरो साइनो भएका मोतिकुमार २०१७ सालको संघर्ष, २०३६ सालको जनमतसंग्रह तथा २०४६ देखि ६२।६३ को जनआन्दोलनसम्ममा सहभागी भए ।
तनहुँको सदरमुकाम बन्दीपुरबाट दमौली सार्ने क्रममा समेत मोतिकुमार अगुवा रहे । बजारको बस्ती विकासका शुरुवाती खण्डमा उनले महत्वपूर्ण योगदान दिएका बताइन्छ । योगदानका आधारमा मोतिकुमारलाई समानुपातिक सांसदको सूचीमा समेत राखिएको थियो । राज्यका पदहरु नलिए पनि सक्दासम्म कांग्रेसको सुधार र सबलीकरणमा उनको योगदान रह्यो । बन्दीपुर कब्जा सघष तथा सदरमुकाम दमौली सार्ने लगायतका घटना समेटेर मोतिकुमारले मोतिको माला नामक पुस्तक समेत प्रकाशन गरेका छन् ।
यसैबीच, श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । कांग्रेस पूर्व उपसभापति गोपालमान श्रेष्ठले उनको पार्थिव शरिरमा नेपाली कांग्रेसको झण्डा ओढाएका थिए । अन्त्येष्टिमा तनहुँस्थित केन्द्रीय सदस्यहरु उपस्थित थिए ।