५६ औं एकदेव आले स्मृति दिवसः एकदेव आलेको क्रान्तिकारीपनबारे काठमाडौंमा चर्चा

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौंः तनहुँका क्रान्तिकारी किसान नेता एकदेव आलेको ५६ औं स्मृति दिवसमा काठमाडौंमा उनको क्रान्तिकारीपन तथा कम्युनिष्ट आन्दोलनमा योगदानबारे चर्चा भएको छ ।


एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानको आयोजनामा काठमाडौंमा भएको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल तथा झलनाथ खनालले राणाशासनबिरुद्धको आन्दोलनदेखि पञ्चायतकालीन समयमा किसान आन्दोलनमा उनले खेलेको भूमिकाबारे चर्चा गरे ।


कार्यक्रममा माओवादी नेता नारायणकाजी श्रेष्ठ, पूर्व उपप्रधानमन्त्री वामदेव गौतम तथा माले महासचिव सीपी मैनालीले तत्कालीन समयमा सिंहदरबार कब्जादेखि जोत्नेको जमिन आन्दोलन चलाउन आलेले खेलेको भूमिकाको प्रशंसा गरे ।
उनीहरुले अल्पायुमै निधन भए पनि आलेको जीवन लामो भए अझ धेरै परिवर्तन परिकल्पना गर्न सकिने बताए ।


विगतमा तनहुँ दमौलीमा कार्यक्रम गरिंदै आए पनि यसपाली आलेको राष्ट्रिय पहिचान देशैभर फैलाउन काठमाडौंमा कार्यक्रम गरिएको र प्रभावकारी बनेको प्रतिष्ठान अध्यक्ष विष्णुभक्त सिग्देलले बताए ।


तनहुँ मानुंगमा जन्मिएका किसान नेता आले राणाशासनबिरुद्ध मुक्ति सेना तथा रक्षा दलको कमाण्डर बनेका थिए । पछि कम्युनिष्ट पार्टीमा पुष्पलाल श्रेष्ठसँग आबद्ध बनेका उनले जमिनमा मोहियानी हक लागू गराउन आफ्नो पहलमा आन्दोलन गरेका थिए ।


क्यान्सरका कारण भारतमा उपचारका क्रममा उनको निधन भएको थियो । निधन हुनुअघि उनले चिकित्सकसँग आफ्नै भूमिमा मर्ने चाहना व्यक्त गरेका थिए । ब्रिटिस भारतीय सेनामार्फत दोश्रो विश्वयुद्धमासमेत सहभागी उनी शिक्षित नभए पनि स्वाध्ययनबाट शैक्षिक र राजनीतिक विचारले प्रेरित रहेको उनीसँग सँगत गरेका नेताहरु बताउँछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी