
दमौलीः नेपाली कांग्रेसले दमौलीमा मंगलबार गर्ने सरकारविरुद्धको प्रदर्शनलाई शक्ति प्रदर्शनका रुपमा लिने भएको छ । पार्टीले १० वटै तहका स्थानीय समितिलाई दमौलीमा हुने प्रदर्शनमा सहभागीताका लागि आवश्यक तयारी गर्न भनेको छ ।
पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल बुल्दी पुलको उद्घाटनका लागि गए पछि भएको धरपकडलगत्तै कांग्रेसले देशव्यापी रुपमा सो घटना तथा सरकारका गतिविधि विरुद्ध आन्दोलन घोषणा गरेको थियो । २९ मंसीरमा देशैभर हुने प्रदर्शनका लागि तनहुँमा पार्टी केन्द्रले डा. मीनेन्द्र रिजाललाई प्रतिनिधि तोकेको छ । जिल्ला कार्य समितिको बुधबारको बैठकले पनि विरोध सभालाई सफल पार्ने निर्णय गरेको थियो ।
पार्टीले मंगलबारको विरोध कार्यक्रमलाई पार्टीको शक्ति बढाउने र कार्यकर्तबीच बिजनेश दिने रणनीतिका रुपमा लिन लागेको छ । नेकपाको सत्ता भएका कारण कतिपय ठाउँमा कार्यकर्ता प्रवेश समेत हुन थाले पछि कार्यकर्तालाई आस्वस्त पार्ने र सक्रिय बनाउनुपर्ने दायित्व पार्टीसामू छ । यही सन्दर्भमा देशव्यापी रुपमा विरोध प्रदर्शनले कार्यकर्तामा उर्जा आउने विश्वास नेतृत्वको छ ।
पछिल्लो समय सरकारविरुद्ध आक्रामक हुन नसकेको आरोप पनि पार्टीमाथि लागेको छ ।
कार्यक्रमलाई शक्तिप्रदर्शनको रुपमा लिएको कांग्रेसले यसका लागि तयारी पनि थालेको कोषाध्यक्ष रेशम गुरुङले जानकारी दिए । ‘हामीले सबै तहबाट कार्यकर्ताको बाक्लो उपस्थिती हुने गरी तयारी गरिरहेका छौं,’ उनले भने ।