
दमौलीः तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सांसद केदार सिग्देलले लैगिंक हिंसामुक्त समाज भएमा मात्र सभ्य समाज निर्माण हुने बताएका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहँुको आयोजनामा मंसिर १८ गते दमौलीमा आयोजना गरिएको ‘जातिय विभेद र कोभिड–१९ को कारण महिलामा परेको असर’ विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले बलात्कारको घटनामा मिलापत्र गराउनेलाई पनि कडा सजायको व्यवस्था गरेको भन्दै अब संसदले अपनत्व ग्रहण गर्ने बताए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय तनहँुका प्रमुख शंकरबाबु अधिकारीले कोभिडको समयमा सबैभन्दा धेरै पीडित महिला नै भएको बताए । सुत्केरी महिला, गर्भवती र अन्यले समयमा स्वास्थ्य परिक्षण गर्न पनि असहज अवस्था सिर्जना भएको भन्दै उनले कोभिडको बहानामा कुनै पनि नागरिकलाई उपचार पाउनबाट बन्चित गर्नु नहुने बताए ।
व्यास नगरपालिकाका महिला तथा बालबालिका शाखाकी प्रमुख राधा आचार्यले व्यास नगरपालिकाले पनि लैङ्गिकमैत्री व्यवहार गर्दै आएको बताइन् । नेपाल बार एसोसियनस तनहँुका पुर्व अध्यक्ष अधिवक्ता शिवदत्त ढकालले जातिय विभेदको बारेमा संविधानमा भएको प्रस्तावको व्यवस्था, मौलिक हक अन्तरगत शोषण विरुद्धको हक, दलितको हकको बारेमा सबै जानकार हुनु पर्ने बताए ।
सामुदायिक वन उपभोक्ता महासंघ तनहँुका जिल्ला सचिवालय सदस्य अनिल पाण्डेले वैदेशिक रोजगारीबाट घरका लोग्ने मान्छे फर्किएपनि त्यसको दीर्घकालीन रुपमा परिवारको आर्थिक बोझ र समस्या धेरै महिलालाई नै परेको बताए ।
मानवअधिकार निगरानी समुहका जिल्ला संयोजक रामलिला सुवर्णकारको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा व्यास नगर कमिटिका अध्यक्ष श्रीराम कार्की, संयुक्त दलित उत्थान मन्चका सचिव विनोद विक, क्रियाशिल पत्रकार महिला तनहुँकी अध्यक्ष अन्जना तिमिल्सेना, दलित महिला कल्पना परियार लगायतले पनि जातिय विभेद र कोभिडको कारण सबैभन्दा बढि महिला नै पीडित भएको बताए ।
कार्यक्रममा महिला शसक्तिकरण सन्चार समाज तनहँुकी अध्यक्ष प्रकृति खनाल न्यौपानेले कोभिडको कारण महिलामा परेको पिडा र क्षती तथा हिंसाको प्रकृतिको बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिईन् । उनको कार्यपत्रमा जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत, स्वास्थ्य कार्यालय तनहँु दमौली अस्पताल एकद्वार संकट व्यवस्थापन केन्द्र र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कोभिडको समयमा संकलन गरेको तथ्यांकहरु प्रस्तुत गरिएको थियो ।
कार्यपत्रका उल्लेखित इन्सेकको तथ्यांक अनुसार कोभिडको कारण भएको लकडाउन पछि तनहँु जिल्लामा १५ वटा बलात्कारका घटना भएको उल्लेख गरिएको छ ।
कार्यपत्रमाथि अधिवक्ता शिवदत्त ढकालले टिप्पणी सहितको सुझाव प्रस्तुत गरेको कार्यक्रमको सहजीकरण इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले गरेका थिए ।