दमौली : तनहुँको भानु नगरपालिका–१३, ठूलढुङ्गामा अविरल वर्षाका कारण पहिरो जाँदा एक घरको भान्साघर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। आइतबार (असोज ११ गते) बिहान करिब ७ बजे स्थानीय हस्तमाया गुरुङको जस्ताको छाना भएको ढुङ्गामाटोले निर्मित भान्साघर पहिरोले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको हो।
घरको आँगनबाट पहिरो जाँदा भान्साघर भत्किनुका साथै घरभित्र रहेका अन्नपात तथा भाँडावर्तनसमेत पुरिएर क्षति भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पोखरीछाप, तनहुँबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
पहिरोबाट भान्साघर र घरायसी सामग्रीमा क्षति पुगे पनि कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।





