
चितवनः कुनै पनि संघ संस्थामा सम्पत्ति रक्षाका लागि गार्ड राख्ने चलन हुन्छ । चोरी हुन रोकियोस् भनेर निकै खर्च गरेर राखिने गार्डहरुको ड्युटी २४ सै घण्टा हुन्छ ।
तर यसरी गार्ड राखिएको मान्छेले नै चोरी गरे के होला ? तर चितवनमा गार्ड राखिएका व्यक्तिले नै रकम चोरी गरेको आरोप लागेको छ । त्यो पनि झण्डै एक करोड ।
९७ लाख नगद चोरीको आरोप लागेर प्रहरी नियन्त्रणमा परेकामा चितवन कालिका नगरपालिका(६ बस्ने ४० वर्षीय कविराज थापा छन् । उनले यही कात्तिक २७ गते भरतपुर महानगरपालिका९ काँडाघारीस्थित रहेको एपोलो पेन्ट्स प्रालिको भवनको कोठाभित्र रहेको सेफ लकर फुटाई नगद चोरेको आरोप उनीमाथि लागेको छ ।

उनी सोही कम्पनीमा सेक्युरिटी गार्डका रूपमा काम गर्ने आएका थिए । प्रहरीले सेक्युरिटी गार्ड बस्ने क्वार्टर (भवन) मा कविराज थापा बस्ने कोठाभित्र खाटमुनि झोलाभित्र लुकाइछिपाई राखेको अवस्थामा नगद ५७ लाख र सोही भवनको उत्तरपट्टि पर्खाल नजिकै झाडीमा लुकाई प्लाष्टिकको बोराभित्र छिपाइराखेको अवस्थामा नगद ४० लाख गरी ९७ लाख र चोरी कार्यमा प्रयोग हुने औजारहरूसमेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।
उनीमाथि चोरी कसुरअन्तर्गत आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाई छ ।