
दमौलीः कोरोना संक्रमित भएर अस्पतालको आईसोलेसनमा रहेका व्यक्तिहरुले आईसोलेसनभित्रै दशें मनाएका छन् । संक्रमणका कारण बिरामी परेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डाक्टर बालकुमार श्रेष्ठले आईसोलेसनमै रहेका अर्का संक्रमित जिल्ला समन्वय समिति तनहुँका प्रवक्ता गल गुरुङसँग टीका थापे ।
दुवैजना बिरामी भएर एउटै कोठामा स्वास्थ्यलाभ गरिरहेकाले घर परिवारसँग टीका लगाउन नपाए पछि आपसमै टिका लगाएर खुशी साटासाट गरेको श्रेष्ठले बताए । ‘परिवारका सदस्य आएर टीका लगाउने कुरा भएन,’ उनले दमौली न्युजसँग भने,‘सँगै भएका अग्रज भएकाले उहाँसँगै टिका लगाएँ ।’
श्रेष्ठको घरबाट परिवारले पठाइदिएको टीका गुरुङले श्रेष्ठलाई लगाईदिनुभएको थियो । टीका थापेपछि श्रेष्ठले परिवारसँग टिका थाप्न नपाए पनि भर्चुअल सम्वाद भने गरेको बताए । ‘घरमा भर्चुअल तरिकाले कुराकानी गरियो,’ उनले भने । चाँडै पछिल्लो परीक्षणको रिपोर्ट आएर नेगेटिभ भएमा दुवै जना घर फर्कने तयारीमा छन् ।
संक्रमणका कारण गम्भीर बिरामी परेयता श्रेष्ठ गत असोज २१ गतेबाट अस्पतालमा छन् । १२ दिन आईसीयु बसेर निको हुने प्रक्रियामा रहेका श्रेष्ठ र दुई साता अघि पुगेका गुरुङ सँगै रहेर स्वास्थ्य लाभ गरिरहेका छन् ।