दमौलीः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ–१ बाट महाधिवेशन प्रतिनिधिका लागि प्रतिस्पर्धा गरेका नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ र युवा नेता केशव अधिकारी महाधिवेशन प्रतिनिधि छनोट भएका छन्।
खुलातर्फ १० पदका लागि भएको निर्वाचनमा श्रेष्ठ र अधिकारी दुवैले समान ३२४ मत प्राप्त गरेका थिए। समान मत आएपछि उनीहरूको महाधिवेशन प्रतिनिधि छनोटबारे टुंगो लाग्न बाँकी रहेको थियो।
केन्द्रले मंगलबार सार्वजनिक गरेको तनहुँको मतदाता नामावलीमा श्रेष्ठ र अधिकारी दुवैको नाम समावेश गरेपछि दुवै जना महाधिवेशन प्रतिनिधि छनोट भएका हुन्।
दुवैको नाम समावेश भएपछि कांग्रेसका स्थानीय कार्यकर्ताले समान मत प्राप्त गरेका दुवै उम्मेदवारलाई प्रतिनिधि बनाउने निर्णयले न्याय भएको प्रतिक्रिया दिएका छन्।






