दमौली : व्यास नगरपालिकाले प्लाष्टिकजन्य कृत्रिम फूलगुच्छा तथा सजावटी सामग्रीको उत्पादन, आयात, बिक्री वितरण, भण्डारण तथा प्रयोग नगर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ।नेपाल सरकारको निर्णय तथा प्रचलित कानूनबमोजिम यस्ता प्लाष्टिकजन्य सामग्रीमा रोक लगाइएको जनाउँदै नगरपालिकाले व्यास नगरपालिका क्षेत्रभित्र यसको कारोबार तथा प्रयोग नगर्न आग्रह गरेको हो।
नगरपालिकाले बजार तथा व्यवसायिक क्षेत्रमा अनुगमन गर्ने जनाएको छ। अनुगमनका क्रममा कानूनविपरीत प्लाष्टिकजन्य कृत्रिम फूलगुच्छा तथा सजावटी सामग्रीको कारोबार वा प्रयोग गरेको पाइएमा प्रचलित कानूनबमोजिम आवश्यक कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिएका छन्।
नगरपालिकाले प्राकृतिक फूल तथा वातावरणमैत्री सामग्रीको प्रयोग गर्न आग्रह गर्दै वातावरण संरक्षणमा सहयोग पुर्याउन सबैलाई अनुरोध गरेको छ।






