दमौलीः नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा तनहुँका नेताहरुको उम्मेदवारीको लर्को लागेको छ ।
जारी महाधिवेशनअन्र्तगत पहिलो सूचीमा तनहुँका नेताहरुले उप सभापतिदेखि, महामन्त्री र केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । ठूला नेतादेखि युवा नेताहरुको उम्मेदवारीले तनहुँका नेता कार्यकर्तामाझ रौनक बढेको छ ।
पार्टीका हालका महामन्त्री प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिंदा पूर्व केन्द्रीय सदस्य गोविन्द भट्टराई उप सभापतिमा उक्लिएका छन् । नेविसंघका दुवै पूर्व केन्द्रीय अध्यक्ष नेतृत्वको दौडमा छन् ।
हालका जिल्ला सभापति जीतप्रकाश आलेले गण्डकी खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
नेविसंघकै पूर्व नेता दीपक भट्टराईले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिंदा, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राडा जगदीशचन्द्र पोखरेलले पेशागत विषयगत खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
जनजाति खुलातर्फ रेशम गुरुंग केन्द्रीय सदस्यको दौडमा रहँदा नेतृ चिनु पोखरेलले महिला खुला र खस आर्य महिलातर्फ आस्था बिन्दु मल्लले उम्मेदवारी दिएकी छन् ।
दलित खुलातर्फ श्यामकुमार मौरती, मुस्लिम खुला महम्मद जवारदिन मियाँ र अपांगता तर्फको केन्द्रीय सदस्यमा प्रकाश पन्थ दौडमा छन् ।
विद्यार्थी नेता सुशील तिमल्सिना गण्डकी प्रदेशको खुलाबाट केन्द्रीय सदस्य लड्दा गण्डकी ३५ वर्ष मुनिका युवा महिलामा एलिजा ढकाल उम्मेदवार छन् ।
यसैगरी तनहुँका प्रवासी नेताहरुमध्ये ओसियाना अमेरिकाबाट रामजिवी पन्त र मध्यपूर्वबाट पुरुषोत्तम खनाल केन्द्रीय सदस्य दौडमा छन् ।






