सरकारले नेपाली सेनालाई सस्तो र कमजोर बनायो : मिराज ढुंगाना

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौँ :  जेनजी अभियन्ता मिराज ढुंगानाले सरकारले नेपाली सेनालाई कमजोर बनाएको आरोप लगाएका छन्।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले सेनालाई सस्तो बनाउने काम गरेको आरोप लगाएका हुन्।

 

साना-साना घटनाको नियन्त्रणमा पनि सेनाको प्रयोग गर्दा सेनाप्रति जनताको विश्वास गुम्ने उनले बताए। सेनालाई बारम्बार आन्तरिक साना घटनामा परिचालन गरिएमा त्यसको दीर्घकालीन प्रभाव राष्ट्रिय सुरक्षामा पर्न सक्ने उनको भनाइ छ। कप्तानगञ्जमा हालै भएको साम्प्रदायिक झडपमा प्रहरीले गोली चलाउनु र त्यसबाट उत्पन्न परिस्थिति नियन्त्रण गर्न सरकारले सेना परिचालन गर्नु दुवै गलत भएको उनले बताए।

जेनजी आन्दोलनबाट बनेको सरकारले समेत निहत्था युवामाथि गोली हानेको आरोप उनले लगाए। द्वन्द्व नियन्त्रणका लागि प्रहरीले घातक हतियारको सट्टा नन–लिथल (प्राणघातक नभएका) उपकरण प्रयोग गर्नुपर्ने उनको भनाइ छ।

कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा ज्यान गुमाउने अधिकांश व्यक्ति युवा तथा जेन–जी उमेर समूहका रहेको उल्लेख गर्दै उनले जेन–जी आन्दोलन र पछिल्लो घटनामा फरक परिस्थिति भए पनि दुवैमा युवाले ज्यान गुमाएको र राज्यले गोली चलाएको बताए। कप्तानगञ्ज घटनाको जिम्मेवारी वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने उनको जोड छ।

भारतमा भएको सीजेपीको ठूलो आन्दोलनमा समेत प्रहरीले गोली नचलाएको उल्लेख गर्दै उनले नेपालमा भने सानो झडपमै गोली चल्नु चिन्ताजनक रहेको बताए। नेपाल बहुजातीय र सामाजिक रूपमा संवेदनशील मुलुक भएकाले द्वन्द्व व्यवस्थापनमा परिपक्व नीति आवश्यक रहेको उनले उल्लेख गरे।

उनले भने, ‘यत्रो आन्दोलनबाट आएको सरकारले यदि सिकेको छैन भने म सिक्न आग्रह गर्न चाहन्छु। अबको द्वन्द्व नियन्त्रण गर्दा एसएलआर लिएर पुलिसलाई पठाउने होइन अथवा सस्तो तरिकामा सेनालाई जङ्गी अड्डाबाट बाहिर निकाल्ने होइन।’

सेनाको साख घट्दा हुने जोखिमबारे औँल्याउँदै उनले थपे, ‘सेनालाई यति सस्तो पारियो कि सानोदेखि सानो घटनामा पनि यदि जङ्गी अड्डाबाट सेना निस्किन्छ भने सेनाको जुन वर्चस्व आजका दिनसम्म कायम थियो त्यो भोलि रहँदैन।’

जनविश्वास गुमेपछिको अवस्थाबारे उनले भने, ‘जुन दिन नेपाली जनताको विश्वास सेनाबाट हट्छ र द्वन्द्व गर्ने मान्छेहरू सेनादेखि डराउँदैनन्, त्यसपछि कस्तो नरसंहार होला हामी आफैँ कल्पना गर्न सक्छौँ।’

दीर्घकालीन सोचको कमीबारे टिप्पणी गर्दै उनले थपे, ‘अलिकति दीर्घकालीन सोच भएको सरकार वा राज्य भएको भए जङ्गी अड्डाबाट सेनालाई यस्तो सस्तो, हल्का र फितलो तरिकामा निकाल्ने थिएन। यो तरिकाले सेनालाई सस्तो पारियो भने आउँदा दिनमा हुने कुनै पनि द्वन्द्वमा धेरैको ज्यान जान्छ।’

सरकारलाई राष्ट्रियता, भौगोलिक अखण्डता र जनसुरक्षालाई प्राथमिकतामा राखेर सुरक्षा रणनीति अघि बढाउन उनले आग्रह गरे। पेट्रोलियम पदार्थमा भइरहेको मिसावट रोक्न र मूल्य घटाउन पनि उनले सरकारसँग माग गरे। नेपालमा चीन विरोधी गतिविधि भइरहेको उल्लेख गर्दै उनले सरकारको परराष्ट्र नीतिप्रति पनि प्रश्न उठाएका छन्। साभारः
रातोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्