बेलचौतारा : भानुभक्त बहुमुखी क्याम्पस परिसरमा १०० फलफूलका बिरुवा रोपिएको छ।
नेपाल वन पैदावार उद्योग व्यवसायी समिति तनहुँले शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा स्थित भानुभक्त बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण गरेको हो।
वृक्षारोपण कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले वृक्षारोपण सामान्य कार्यक्रमका रूपमा नभई स्पष्ट उद्देश्यसहित सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। विगतमा विभिन्न समयमा वृक्षारोपण भए पनि रोपिएका बिरुवाको संरक्षण र हेरचाहमा बेवास्ता हुँदा अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको उल्लेख गर्दै उनले नतिजामुखी वृक्षारोपणमा जोड दिए।
नगर प्रमुख पण्डितले शुक्लागण्डकी नगरपालिकाले भानुभक्त बहुमुखी क्याम्पसको विकासलाई प्राथमिकतामा राखेको बताउँदै यस आर्थिक वर्षमा क्याम्पसका लागि फर्निचर व्यवस्थापन गर्न २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए। आगामी दिनमा विद्यार्थीलाई लक्षित गरी बस सञ्चालनका लागि पनि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा जिल्ला वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले वृक्षारोपणलाई उद्देश्यकेन्द्रित बनाउनुपर्नेमा जोड दिँदै वन कार्यालयले विभिन्न व्यवसायिक संस्था तथा समितिसँगको सहकार्यमा जिल्लाका विभिन्न क्षेत्रमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनका अनुसार तनहुँमा हालसम्म करिब १८ हजार हेक्टर क्षेत्रमा वृक्षारोपण सम्पन्न भएको छ भने जिल्ला वन कार्यालयमार्फत ३८ हजारभन्दा बढी बिरुवा वितरण गरिएको छ।
कार्यक्रममा भानुभक्त बहुमुखी क्याम्पसका अध्यक्ष दुर्गाकुमार श्रेष्ठ, उपाध्यक्ष तथा शुक्लागण्डकी नगरपालिका–५ का वडाध्यक्ष दीर्घबहादुर थापालगायतले वृक्षारोपणको महत्व र संरक्षणको आवश्यकताबारे धारणा राखेका थियो।
कार्यक्रमअन्तर्गत क्याम्पस परिसरमा एक सय वटा फलफूलका बिरुवा रोपिएको समितिका अध्यक्ष दीपबहादुर श्रेष्ठले जानकारी दिए। उनका अनुसार रोपिएका बिरुवामा आँप र लिचीका बिरुवाहरू समावेश छन्। समितिले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा शैक्षिक संस्थामा फलफूलयुक्त वातावरण निर्माण गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम आयोजना गरेको जनाएको छ।





