काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई जना सदस्य थप गरेको छ।
गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी उपरीक्षक मोहनसिंह धामी र प्रहरी निरीक्षक दिपेश अवस्थीलाई सदस्यका रूपमा मनोनयन गरेको हो। यससँगै समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न निर्देशनसमेत दिइएको छ।
गत आइतबार राति सुनसरीको देवानगन्जमा दुई समूहबिच भएको झडपका सम्बन्धमा छानबिन गर्न सोमबार गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो।
मन्त्रालयले सुनसरीलगायत अन्य जिल्लामा सोही प्रकृतिका घटना दोहोरिन नदिनका लागि पूर्वतयारीसमेत तीव्र पारेको छ। यसका लागि बाँके, कपिलवस्तु, धनुषा, सिरहा, सप्तरी लगायतका जिल्लामा शान्ति, सुव्यवस्था र आपसी सद्भाव कायम राख्न प्रमुख जिल्ला अधिकारीमार्फत आवश्यक समन्वय भइरहेको छ।
- यसैबिच, गृह मन्त्रालयमा आज गृहमन्त्रीसहित सचिव र सुरक्षा निकायका प्रमुखको उपस्थितिमा जिल्लागत सुरक्षा अवस्थाबारे गम्भीर समीक्षा गरिएको छ। मन्त्रालयले वार्ताको माध्यमबाट सुनसरीको समस्या समाधान गर्न पहल गरिरहेको र हाल देवानगन्जलगायतका संवेदनशील क्षेत्रमा अवस्था सामान्य बन्दै गएको जनाएको छ।
साभारः गोरखापत्र अनलाइन





