डिजिटल नेटवर्क रहेको सबैभन्दा ठूलो पार्टी कांग्रेस बनेको छ- प्रदीप पौडेल

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले डिजिटल नेटवर्कसहित मुलुकको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस बनेको बताएका छन्।

सबै सदस्यहरूको डिजिटल अद्यावधिक गरिएको उल्लेख गर्दै उनले यस सवालमा अरू पार्टीहरूलाई कांग्रेसले पछि पारेको पनि बताए।

‘अब कांग्रेसका हरेक क्रियाशील सदस्यसँग डिजिटल आइडी हुन्छ, केन्द्रीय कार्यालयले सदस्यहरूलाई डिजिटल नेटवर्कबाट सूचना पुर्‍याउँछ, विज्ञापन गरिराख्न पर्दैन,’ बिपी स्मृतिमा जरा अभियान समापन र नयाँ अभियान घोषणा कार्यक्रममा आज बोल्दै उनले भने, ‘कांग्रेस नेतृत्वले अब हरेक सदस्यसँग सिधा संवाद गर्न सक्छन्। नेपालमा डिजिटल नेटवर्कसहितको सबैभन्दा धेरै सदस्य भएको पार्टी नेपाली कांग्रेस हो।’

उनकाअनुसार डिजिटल नेटवर्कबाट अब नेतृत्व र सदस्यहरूबीच संवाद, पार्टीका रणनीति र दृष्टिकोण साझा गरिनेछ। यसले कार्यकर्तासँग नेतृत्वको सम्बन्ध पहिलेभन्दा सहज बनाउने उनले बताए।

उनकाअनुसार २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनकै जति क्रियाशील सदस्य असोजमा हुने १५ औं महाधिवेशनमा पनि हुनेछन्। १४ औं महाधिवेशन गर्दा कांग्रेसमा ८ लाख ८२ हजार ८ सय १६ जना क्रियाशील सदस्य कायम थिए।

पुस १० गतेसम्म नवीकरण गरेकामध्ये ८० प्रतिशत सदस्यहरूले थप विवरण दिएर क्रियाशील अद्यावधिक गरिसकेको र नयाँ क्रियाशील वितरणका काम पनि भइरहेको उनले बताए।

गगन थापा नेतृत्वमा कांग्रेस अब व्यवस्थित र सिर्जनशील रूपमा अघि बढ्ने पनि उनले बताए। पार्टीले भुइँ मानिसका एजेन्डालाई समेट्न नयाँ अभियान सञ्चालन गर्ने पनि उनले बताए।

क्रियाशील सदस्यका लागि पार्टीमा कुनै बन्देज नगरिएको र १८ वर्ष पूरा भई राजनीतिक दल सदस्य हुन योग्यले क्रियाशील सदस्यता पाउने उनले बताए।

’३५ वर्षमुनिका युवाहरू महाधिवेशन प्रतिनिधिदेखि केन्द्रीय सदस्यसम्म बन्ने सुनिश्चित गरिसकिएको छ, यो उमेर समूहका २१ जना केन्द्रीय सदस्य हुनेछन्,’ उनले भने, ‘नयाँ क्रियाशील सदस्यता लिने युवाहरू पनि उल्लेख छन्।’
साभारः सेतोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्