दमौली : जिल्लाको शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितद्वारा पत्रकार विनोद ढुंगानामाथि आइतबार दुव्र्यवहार भएको छ । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित हाटबजारमा २०८३ जेठ ३१ गते रिपोर्टिङका क्रममा नेपाल पत्रकार महासंघ तनहुँ शाखाका सदस्य तथा पत्रकार विनोद ढुंगानामाथि शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितद्वारा गरिएको अभद्र, अपमानजनक तथा पत्रकारिताको मर्यादाविपरीतको व्यवहार गरेका हुन् ।
उक्त घट्नप्रति नेपाल पत्रकार महासंघ तनहुँ शाखाले प्रेस विज्ञप्ती जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । रिपोर्टिङको क्रममा नगर प्रमुख पण्डितले “पत्रकार त पार्टीका हुन्छन्” भन्ने अभिव्यक्ति दिएपछि पत्रकार ढुंगानाले “को भयो पार्टीका पत्रकार ? कसरी भयो ?” भन्ने स्वाभाविक जिज्ञासा राख्दा नगर प्रमुख पण्डितले “तैले मलाई सिकाउन पर्दैन” भन्दै अपमानजनक र असभ्य व्यवहार गरेको जानकारी प्राप्त भएको शाखाका सचिव कृष्ण न्यौपानेद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
जनप्रतिनिधिबाट सञ्चारकर्मीमाथि गरिने यस्ता अभिव्यक्ति र व्यवहारले प्रेस स्वतन्त्रता, पत्रकारको पेशागत मर्यादा तथा लोकतान्त्रिक मूल्य–मान्यतामाथि नै प्रश्न उठाउने काम गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । पत्रकार विनोद ढुंगानामाथि भएको दुव्र्यवहारको हामी घोर भर्सनमा गर्दै सम्बन्धित पक्षलाई यस्ता गतिविधि तत्काल बन्द गर्न, प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा सार्वजनिक रूपमा माफी माग्न महासंघले आग्रह गरेको छ ।
स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारितामाथि हुने कुनै पनि प्रकारका दबाब, धम्की, दुव्र्यवहार वा हस्तक्षेपप्रति सञ्चार क्षेत्र सदैव एकजुट रहने महासंघले प्रतिबद्धता जनाएको छ ।





