दमौली : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२, जामुनेमा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।
शनिबार दिउँसो करिब ३ः२५ बजे दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा १९ च १४७७ नम्बरको स्कारपिओ र विपरीत दिशाबाट आउँदै गरेको ग १ ज ९००८ नम्बरको ईभी माइक्रो एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनापछि स्कारपिओ अनियन्त्रित भई सडकको डिभाइडर नाघेर पोखराबाट दमौलीतर्फ जाने लेनमा पुगेको थियो। त्यसक्रममा स्कारपिओ पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ज ७५०१ नम्बरको टाटा सुमोसँग समेत ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ईभी माइक्रोका चालक शुक्लागण्डकी नगरपालिका–६, तनहुँका ३२ वर्षीय सुमन परियार र माइक्रोमा सवार व्यास नगरपालिका–१४ निवासी नौ वर्षीया जेनिशा परियार घाइते भएका छन्। घाइते दुवै जनाको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ।


















