बाँकेमा दुई कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु, ६ जना घाइते

दमौली न्युज
  • ख-
  • ख
  • ख+

बाँके: बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुईवटा कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। प्राप्त विवरणअनुसार, ७ गते बिहान करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कार एकआपसमा ठोक्किएका हुन्।

दुर्घटनामा परी बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको छ। घाइते शाहीलाई उपचारका लागि लगिएकोमा चिकित्सकले बिहान १०:०८ बजे मृत घोषणा गरेका थिए।

सोही कारमा सवार ४० वर्षीया कुसुम शाही र १६ वर्षीय सुभम शाहीको अवस्था सामान्य रहेको छ। कार चालक डोटीको साविक मुदेगाउँ गाविस–७ घर भएका ४५ वर्षीय नरेन्द्रबहादुर शाही घाइते भएका छन्। उनको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रा.लि.मा उपचार भइरहेको छ।

त्यस्तै, अर्को कारमा सवार दाङको घोराही उपमहानगरपालिका–७ निवासी ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते भएका छन्। उनीहरूको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।

दोस्रो कारका चालक घोराही उपमहानगरपालिका–७ सौरियार निवासी करिब ४० वर्षीय सम्राट नाथ योगीलाई भने चोटपटक लागेको छैन। उनलाई इलाका प्रहरी कार्यालय कुसुम, बाँकेले नियन्त्रणमा लिएको छ। दुर्घटनाका कारण अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग बिहान १०:१५ बजे पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्