दाङ : गुल्मीमा सोमबार साँझ भएको सवारी दुर्घटनामा परी मृत्य हुने ६ जनाको पहिचान खुलेको छ।पाँच जनाको घटनास्थलमै र थप एक जनाको उपचार क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुदीप नेपालीका अनुसार गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल स्याङ्जाको वालिङमा बस्ने अन्दाजी ५० वर्षीय लोकनाथ पाण्डे, त्यही ठाउँकी सीता पाण्डे र उमेर नखुलेका कुलानन्द पाण्डेको घटनास्थलमै मृत्यु भएको हो।
त्यस्तै, चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलीपकुमार बगाले र वालिङ–१० का ६० वर्षीय शिव पराजुलीको पनि दुर्घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक नेपालीले बताए। दुर्घटनामा घाइते भएकी वालिङ–२ की नीता बगालेको उपचार क्रममा स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी सामुदायिक अस्पतालमा मृत्यु भएको थियो।
दुर्घटनामा परेर गुल्मीको कालीगण्डकी–१ सिरकोटका छविलाल पाण्डे, स्याङ्जाको वालिङकी अन्दाजी ५५ वर्षीया गोमता पाण्डे र वालिङ–१० का बालकृष्ण सुवेदी घाइते भएका छन्।घाइतेमध्ये गुल्मीका पाण्डे र स्याङ्जाका सुवेदीको कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मीमा उपचार भइरहेको छ भने गोमताको मिसन अस्पताल, पाल्पामा उपचार जारी रहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा जिल्लाका प्रवक्ता डिएसपी वीरेन्द्रवीर विश्वकर्मा नेतृत्वको टोली उद्धारका लागि खटिएको छ। सोमबार बेलुकी ४ बजेतिर स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्से जाँदै गरेको बा ०२२० नम्बरको गाडी कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डबाट दुर्घटनामा परेको थियो।
गाडी सडकबाट २०० मिटरभन्दा तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ। साभारः सेतोपाटी


















