दमौली: तनहुँ प्रहरीले जिल्लाका विभिन्न नदी तथा घाटहरूबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन एवं ओसारपसार गर्ने कार्यविरुद्ध आफ्नो सक्रियता र निगरानीलाई कडा पारेको छ।
यसै क्रममा व्यास नगरपालिका वडा नम्बर ७ कलेस्तीमा बिनाकानुनी कागजात अवैध रूपमा बालुवा उत्खनन गरी ढुवानी गर्दै गरेको अवस्थामा एक थान ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) द्वारिकाप्रसाद घिमिरेका अनुसार नियन्त्रणमा लिइएको उक्त सवारी साधनलाई व्यास नगरपालिकाले १२ हजार रुपियाँ जरिवाना गरेपछि छाडिएको छ।
यसैबीच, प्रहरीले निगरानी बढाउने क्रममा यसअघि शुक्रबार शुक्लागण्डकी नगरपालिकाका विभिन्न घाटहरूबाट अवैध नदीजन्य पदार्थसहित ५ वटा सवारी साधन नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएका ती सवारी साधनहरूलाई शुक्लागण्डकी नगरपालिकाले जनही १२ हजार रुपियाँका दरले कुल ६० हजार रुपियाँ जरिवाना गरेको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो। स्थानीय प्राकृतिक स्रोतको अवैध दोहन रोक्न प्रहरीले कडा कदम चालेको र आगामी दिनमा समेत चेकिङ कार्यलाई अझ तीव्र पारिने प्रहरीले जनाएको छ।
