बेलचौतारा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर भण्डारीले आफ्नो क्षेत्रमा विकासको बलियो जग बसाल्न सफल भएको दाबी गर्दै अधुरा सपनाहरू पूरा गर्न आफू पुनः चुनावी मैदानमा उत्रिएको बताएका छन्। शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा तनहुँ क्षेत्र नम्बर २ को विस्तारित बैठकलाई सम्बोधन गर्ने क्रममा नेता भण्डारीले कुम्लेखोला पुल, बेलचौतारा र खैरेनीटार जस्ता बृहत् खानेपानी आयोजनाहरू आफ्नै पहलमा अगाडि बढेको स्मरण गराए ।
उनले शहिद लालध्वज मार्गको निर्माण, सेती नदीको कटान नियन्त्रणका लागि तटबन्धन, र गाउँ–गाउँमा विद्युतीकरण एवं खानेपानी सुविधा पुर्याउन आफूले चालेका कदमहरूको फेहरिस्त प्रस्तुत गरेका थिए। नागरिकलाई घरदैलोमै सरकारी सेवा प्रदान गर्न विभिन्न सेवा कार्यालयहरू स्थापना गर्न सफल भएको उल्लेख गर्दै उनले आफ्नो कार्यकालमा विनियोजन भएको बजेट र कार्यान्वयन भएका योजनाहरूको तुलनात्मक अध्ययन गर्न समेत आग्रह गरे।
धेरैजसो सिँचाइका कार्यक्रम र पुलपुलेसाका योजनाहरू अहिले निर्माणको चरणमा रहेको बताउँदै उहाँले ती कामलाई पूर्णता दिन आफ्नो उम्मेदवारी अपरिहार्य रहेको जिकिर गर्नुभयो । तनहुँमा विद्युतको सेवा कार्यालय ल्याउन सफल भएको स्मरण गर्दै दिर्घकालिन विकासको काम पुरा गर्न उम्मेदवार बन्नु परेको बताए ।
क्षेत्र नम्बर २ का सभापति चुडामणि खनालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला तहका प्रभावशाली नेताहरूले भण्डारीको विकासप्रेमी छविको प्रशंसा गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस तनहुँका सभापति जीतप्रकाश आले, निवर्तमान सभापति वैकुण्ठ न्यौपाने, र पूर्व सभापति रघुनाथ पौडेलले जिल्लाको समग्र समृद्धिका लागि भण्डारीको नेतृत्व आवश्यक रहेको औँल्याएका थिए। त्यसैगरी जिल्ला उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठ, समानुपातिक सांसद इन्दिरा खनाल, र गण्डकी प्रदेशका पूर्वमन्त्री डोबाटे विश्वकर्माले भण्डारीले केन्द्रमा बनाएको प्रभाव र जिल्लामा भित्राएकाका योजनाहरू नै आगामी निर्वाचन जित्ने मुख्य आधार भएको धारणा राखेका थिए।
ठूलो संख्यामा कार्यकर्ताहरूको उपस्थिति रहेको सो बैठकले चुनावी रणनीति तय गर्दै एकढिक्का भएर अगाडि बढ्ने संकल्प समेत गरेको छ । चुनावी प्रचार प्रसारको लागि क्षेत्रीय कार्यलयको स्थापना गरिएको छ ।











