बन्दीपुर : तमु ल्होसार तथा बन्दीपुर भ्रमण वर्ष २०२५ को समापनको अवसरमा मंगलबार बन्दीपुरमा ऐतिहासिक विशाल कौरा नृत्य प्रदर्शन गरिएको छ ।बन्दीपुरको टुँडिखेलस्थित खुला मैदानमा आयोजित कार्यक्रममा एकै साथ एक हजार भन्दा बढी कलाकारहरुले कौरा नृत्य प्रस्तुत गरिएको हो ।
विभिन्न समुदायलको प्रतिनिधित्व गर्दै आ–आफ्नो मौलिक जातीय पोशाक र भेषभूषामा सजिएका कलाकारहरूले एउटै मञ्चबाट प्रस्तुत गरेको कौरा नृत्य हाल सम्मकै सब ैभन्दा विशाल भएको पर्यटनविद् एवं कार्यक्रम संयोजक हरिसिंह गुरुङले बताए । उनका अनुसार यो प्रदर्शनले तनहुँको सांस्कृतिक इतिहासमै नयाँ कीर्तिमान स्थापित गरेको बताए ।
‘हाम्रो ल्होसार, हाम्रो कौरा, कौराको उद्गमस्थल तनहुँ, हाम्रो गर्व’ भन्ने नाराका साथ आयोजना गरिएको यस कार्यक्रमको उद्देश्य तनहुँको सांस्कृतिक पहिचानको प्रतीक कौरा नृत्यलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्दै सांस्कृतिक पर्यटनको प्रवद्र्धन गर्नु रहेको थियो ।
कार्यक्रममा गुरुङ समुदाय सँगै मगर, कुमाल, दरै, बाहुन–क्षेत्री, नेवार लगायत विभिन्न जातजातिका कलाकारहरूले आफ्नै मौलिक पहिरनमा एउटै मञ्चबाट कौरा नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा तनहुँका विभिन्न आठ वटा विद्यालयका विद्यार्थी सहभागी थिए। साथै भिक्टोरिया डान्स स्कुल, बन्दीपुर तमु समाजलगायतका संस्थाबाट पनि सहभागिता रहेको थियो।विविधताभित्रको एकता झल्काउने यस सांस्कृतिक प्रस्तुतिले बन्दीपुरको पहिचान र गौरवलाई अझ सशक्त बनाएको सहभागीहरूले बताएका छन् ।











