दमौली : पुस २४ गते देखि माघ ५ गते सम्म सञ्चालन हुने छैठौं आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव–२०८२ लाई भव्य बनाउने उद्देश्यका साथ दमौलीका विभिन्न स्थानमा स्वागत गेट निर्माण कार्य सुरु गरिएको छ । महोत्सवलाई लक्षित गर्दै व्यास नगरपालिका क्षेत्रका चार प्रमुख स्थानमा स्वागत गेट निर्माण सुरु गरिएको हो ।
मुल समारोह समितिका संयोजक सनम तमाङ्गका अनुसार व्यास–१ अन्तर्गत गल्बुबेशी चोक र अमरापुरीमा स्वागत गेट निर्माण भइरहेको छ भने व्यास–५ को मादीनदी पुलमा स्वागत गेट राख्ने तयारी अन्तिम चरणमा पुगेको छ । त्यस्तै व्यास–२ र ३ को सिमानामा पर्ने सफासडक चोकमा स्वागत गेट स्थापना भइसकेको छ ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँको आयोजनामा हुने महोत्सव व्यास नगरपालिका–३ स्थित अनसन चौतारीको खुला मैदानमा सञ्चालन हुने छ । महोत्सवमा आइफिल टावर, लण्डन ब्रिज जस्ता संरचनात्मक आकर्षण, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, मौलिक सांस्कृतिक झाँकी तथा विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँका सचिव जिवन गुरुङ्गले जानकारी दिए ।
आयोजकका अनुसार महोत्सव अवधिभर करिब तीन लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ । परिषद्का कोषाध्यक्ष ठाकुुर दरैका अनुसार महोत्सवबाट करिब ७३ लाख रुपैयाँ आम्दानी हुने र ५८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । महोत्सवबाट करिब १५ लाख रुपैयाँ बचत हुने लक्ष्य रहेको दरैले बताए । महोत्सवबाट बचत हुने रकम आदिवासी जनजातिको कला, संस्कृति र पहिचान झल्कने जीवन्त सांस्कृतिक संग्रहालय निर्माणमा खर्च गरिने परिषद्का वरिष्ठ उपाध्यक्ष सिद्धान्त थापाले बताए ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ । कला, संस्कृति, भाषा, धर्म र सभ्यताको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आदिवासी जनजाति महासंघ तनहुँका पूर्व अध्यक्ष हरिसिंह गुरुङले बताए ।
“भाषा, लिपि, धर्म, संस्कृति र सभ्यताको जगेर्ना तथा हस्तान्तरणमा एक्यबद्धता, खुला जीवन्त सांस्कृतिक संग्रहालय निर्माण र पर्यटन विकासमा प्रतिबद्धता” भन्ने नाराका साथ महोत्सव आयोजना गर्न लागिएको महासंघका उपाध्ययक्ष शेर बहादुर बोटेले बताए । महोत्सवमा १ सय ५० वटा स्टल रहने आयोजकले जनाएको छ ।











