देवघाट : हिन्दू धर्मावलम्बीहरूको विश्वविख्यात धार्मिक तथा पर्यटकीय गन्तव्य देवघाटधामलाई आज एक विशेष समारोहका बीच औपचारिक रूपमा प्लास्टिकमुक्त क्षेत्र घोषणा गरिँदैछ। कालीगण्डकी र त्रिशूली नदीको पवित्र संगमस्थल रहेको देवघाटधामको धार्मिक गरिमा र वातावरणीय स्वच्छता जोगाउने उद्देश्यसहित देवघाट क्षेत्र विकास समितिले यो ऐतिहासिक कदम चालेको हो।
भरतपुर महानगरपालिकाकी प्रमुख श्रीमती रेनु दाहालको प्रमुख आतिथ्यमा आज देवघाट बसपार्कमा आयोजना हुने विशेष कार्यक्रममा देवघाटलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिने तयारी पूरा भएको छ। पौराणिक कालदेखि नै ऋषिमुनिहरूको तपोभूमि र मोक्ष प्राप्तिको पवित्र स्थलका रूपमा परिचित देवघाटधाममा माघे सङ्क्रान्ति, बोलबम, श्राद्ध तथा विविध धार्मिक पर्वमा लाखौँ श्रद्धालु भक्तजनहरूको आवागमन हुने गर्दछ।
तर पछिल्लो समय फूल, अक्षता र प्रसादमा प्रयोग गरिने प्लास्टिकका झोला तथा सामग्रीहरू नदीमै विसर्जन गरिँदा पवित्र नारायणी, कालीगण्डकी र त्रिशूली नदीमा प्रदूषण बढ्दै गएको थियो। देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा. ईश्वरिराज लौडारीले देवघाटको आध्यात्मिक शक्ति र नदीहरूको निर्मलता जोगाउन यो अभियान अपरिहार्य भएको बताउनुभयो। उहाँका अनुसार तीर्थस्थलको पवित्रता जोगिन नसके धार्मिक पर्यटनको आत्मा नै कमजोर हुने भएकाले प्लास्टिक प्रयोगमा कडाइ गरिन लागेको हो।
घोषणासँगै अब देवघाट क्षेत्रभित्र एकपटक प्रयोग हुने प्लास्टिक झोला, ४० माइक्रोनभन्दा पातला बोतल, प्लास्टिकका गिलास र प्लेट पूर्ण रूपमा निषेध गरिनेछ। समितिका कार्यकारी निर्देशक श्री सदन बरालका अनुसार स्नानघाट र प्रवेश नाकाहरूमा कपडाका झोला वितरण गरिने तथा भक्तजनहरूलाई घरबाटै वातावरणमैत्री सामग्री ल्याउन प्रोत्साहन गरिनेछ।
देवघाटको स्वच्छताका लागि चितवन, तनहुँ र नवलपुरका स्थानीय तहहरूले बजेट विनियोजन गरी सहकार्य गरिरहेका छन्। नवलपुरस्थित ‘सहमति संस्था’सहित १३ भन्दा बढी संघ–संस्थाहरूले ‘नदीसँगै हामी’ अभियानमार्फत लामो समयदेखि सरसफाइमा योगदान दिँदै आएका छन्। आजको घोषणाले देवघाटधामलाई धार्मिक आस्थासँगै वातावरणीय दृष्टिले पनि विश्वकै नमूना तीर्थस्थलका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।











