काठमाडौँ : नेपाल ट्रेड युनियन काँग्रेस (NTUC) को संरचनामा युवा श्रमिकको अनिवार्य र अर्थपूर्ण समावेशीकरण सुनिश्चित गर्न माग गर्दै नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय युवा समितिले केन्द्रीय नेतृत्वसमक्ष औपचारिक स्मरणपत्र पेस गरेको छ। काठमाडौँ–१० स्थित नेपाल ट्रेड युनियन काँग्रेसको राष्ट्रिय समितिमा पेस गरिएको स्मरणपत्रमा नेपाली श्रम बजारको बदलिँदो जनसांख्यिकीय संरचना, विश्वव्यापी श्रमिक आन्दोलनमा देखिएको Gen-Z नेतृत्वको प्रभाव, तथा संगठनभित्र युवाको न्यून सहभागिताले सिर्जना गरेको दीर्घकालीन जोखिमबारे गम्भीर ध्यानाकर्षण गराइएको छ।
स्मरणपत्रमा उल्लेख गरिएअनुसार नेपालको श्रम शक्तिमा ३१ वर्ष मुनिका श्रमिकको हिस्सा ४० प्रतिशतभन्दा बढी र ४० वर्ष मुनिका श्रमिक ६० प्रतिशतभन्दा माथि छन्। यस्तो अवस्थामा श्रमिक आन्दोलनको वैचारिक निरन्तरता, संगठनात्मक सुदृढीकरण र भविष्यको नेतृत्व विकासका लागि युवाको केन्द्रीय भूमिका अपरिहार्य भएको राष्ट्रिय युवा समितिको ठहर छ। युवा समितिले NTUC को विधानमा उल्लेख गरिएको १० प्रतिशत युवा सहभागिता व्यवहारमा केवल औपचारिकतामा सीमित भएको जनाउँदै, यसले संगठनभित्र नेतृत्व हस्तान्तरणमा शून्यता, युवाबीच निराशा र विश्वासको खाडल सिर्जना गरेको चेतावनी दिएको छ। समयानुकूल रूपान्तरण नगरे श्रमिक आन्दोलनको प्रासंगिकतामा ह्रास आउने स्मरणपत्रमा उल्लेख छ।
स्मरणपत्रमार्फत राष्ट्रिय युवा समितिले सबै तहमा ३५ वर्षमुनिका युवा श्रमिकको ४० प्रतिशत अनिवार्य सहभागिता सुनिश्चित गर्न माग गरेको छ। साथै नीति निर्माण, बजेट विनियोजन तथा प्रमुख निर्णय प्रक्रियामा युवालाई औपचारिक मतदान अधिकारसहित सहभागी गराउनुपर्ने माग अघि सारिएको छ। त्यसैगरी, नेपाली कांग्रेस पार्टीको महाधिवेशनमा NTUC लाई प्राप्त प्रतिनिधि कोटामा कम्तीमा ३० प्रतिशत युवा सहभागिता, नियमित र बजेटसहित क्षमता विकास कार्यक्रम, उत्तरदायित्वपूर्ण पदमा युवालाई प्राथमिकता, पाँच वर्षे दीर्घकालीन युवा–मैत्री रणनीति, युवा केन्द्रित नीति अनुसन्धान इकाई तथा शीर्ष नेतृत्वसँग नियमित संवादका लागि ‘युवा परामर्श संयन्त्र’ गठन गर्नुपर्ने माग पनि स्मरणपत्रमा समावेश गरिएको छ।
नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय युवा समितिले प्रस्तुत मागहरूको इमान्दार कार्यान्वयनले संगठनलाई दीर्घकालीन रूपमा बलियो, समावेशी र परिणाममुखी बनाउने विश्वास व्यक्त गर्दै, यस स्मरणपत्रलाई भविष्यको गतिशील र युवा–मैत्री श्रमिक आन्दोलनतर्फको निर्णायक कदमको रूपमा लिएको NTUC राष्ट्रिय युवा समितिका अध्यक्ष श्री दिपेन्द्र सुनारले जानकारी दिए ।










