प्रतिनिधि सभा सदस्य निर्वाचनः उम्मेदवार आकांक्षी सबैको नाम जिल्लामा

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आकांक्षीहरुको नाम शंकलन गरेका तनहुँका दुवै क्षेत्रीय समितिहरुले यस अघि आकांक्षा व्यक्त गरेका सबैको नाम जस्ताको तस्तै जिल्ला समितिमा पठाएका छन् ।


आकांक्षीहरु कसैले पनि नाम फिर्ता नलिएकाले थप निर्णयका लागि जिल्लामा नाम पठाइएको कांग्रेस तनहुँ क्षेत्र नम्बर १ का सचिव दयानिधि नरालले जानकारी दिए ।

तनहुँ २ का क्षेत्रीय सचिव सन्तोष घिमिरेले बीचमा थपिएका नामसहित सबैको सूची बिहीबार जिल्लामा बुझाइने जानकारी दिए ।


तनहुँ १ बाट ११ तथा २ बाट ७ जनाले प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन इच्छा देखाएका थिए । केन्द्रीय सदस्य तथा निवर्तमान सांसदसमेत रहेका नेताहरु र विगतको निर्वाचनमा उम्मेदवार रहेका नेताहरु समेत टिकटको दौडमा छन् ।


तनहुँ १ बाट विगतका उम्मेदवार केन्द्रीय सदस्य गोविन्द भट्टराई तथा केन्द्रीय सदस्य एवं तनहुँ २ का निवर्तमान सांसद शंकर भण्डारी दुवैले दावेदारी राखेका छन् । यसैगरी तनहुँ १ बाट संविधान सभासद रामचन्द्र पोखरेल र सरिता गुरुङ, योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेल दावेदार छन् ।


यसैगरी महाधिवेशन प्रतिनिधि दीपक भट्टराई, महाधिवेशन प्रतिनिधि रेशम गुरुङ, महासमिति सदस्य पुरुषोत्तम खनाल, क्षेत्रीय सभापति श्याम मौरती तथा विद्यार्थी नेता उद्धव पौडेल समेतको नाम निर्णयका लागि जिल्ला समितिमा पुगेको छ ।


तनहुँ २ बाट भने तुलनात्मक रुपमा कमले इच्छा जाहेर गरेका थिए । केन्द्रीय सदस्य तथा निवर्तमान सांसदहरु प्रदीप पौडेल र शंकर भण्डारीसँगै तनहुँ २ बाट क्षेत्रीय सभापति चुडामणि खनाल, महाधिवेशन प्रतिनिधि चाम थापा र आमन्त्रित केन्द्रीय सदस्य पुष्प पराजुलीले प्रत्यक्ष टिकटका लागि दावेदारी दिएका थिए ।

यसैगरी, म्याग्देबाट डिएलए पूर्व अध्यक्ष यदुनाथ खनाल र व्यास ५ का नवीन खनालले समेत क्षेत्र २ बाट प्रत्यक्षतर्फको टिकटका लागि अन्तिममा दावेदारी प्रस्तुत गरेका छन् ।

क्षेत्र २ बाट समानुपातिकमा २ महिला मायादेवी राना र इन्दिरा खनालको दावेदारी परेकामा पुरुषतर्फबाट क्षेत्रीय सचिव सन्तोष घिमिरेले समेत दावेदारी दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्