गाउँपालिकाका कर्मचारीहरूले सामुहिक महायज्ञलाई दान गरे

दमौली न्युज
  • ख-
  • ख+

आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी–बुढीमाई मन्दिर क्षेत्रको संरक्षण र धार्मिक पर्यटन प्रवद्र्धनका लागि सञ्चालन भइरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा आँबुखैरेनी गाउँपालिका कार्यालय, मातहतका कार्यालय र आँबुखैरेनी अस्पतालमा कार्यरत कर्मचारी परिवारहरूले सामूहिक रूपमा दान गरेका छन् । उनीहरूले ५ लाख ५५ हजार ५ सय ५५रुपैया ५५ पैसा दान गरेका हुन्।

गाउँपालिका कर्मचारीहरूले सामूहिक भावनाले गरेको यो सहयोगले छिम्केश्वरी क्षेत्रको धार्मिक, सांस्कृतिक र भौतिक पूर्वाधार विकासमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ । महायज्ञमा हालसम्म एक करोड भन्दा बढी दान सङ्कलन भइसकेको छ। सङ्कलित रकमबाट मन्दिर क्षेत्रका स्थायी संरचना, सभाहल, ध्यान केन्द्र, विश्रामगृह, शौचालय र सरसफाइ पूर्वाधार निर्माण गरिने समितिले जनाएको छ ।

समुद्र सतहदेखि २,१३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी मन्दिरबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध, सैपाल र अपि हिमालको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । गोरखाको मनकामनामाईकी दिदीका रूपमा पूजिँदै आएकी छिम्केश्वरी र बुढीमाईको दर्शनले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहँदै आएको छ । महायज्ञ कात्तिक ८ गतेदेखि सञ्चालनमा आएको हो र कात्तिक १५ गते सम्म निरन्तर चल्ने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्