छिम्केश्वरी र बुढीमाई मन्दिर संरक्षणका लागि महायज्ञमा करोड नजिक दान संकलन

दमौली न्युज
  • ख-
  • ख+

आँबुखैरेनी : तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी र बुढीमाई मन्दिरको संरक्षण तथा धार्मिक पर्यटन प्रवर्द्धनका लागि सञ्चालन भइरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा हालसम्म करिब १ करोड नजिक दान संकलन भएको छ।
आँबुखैरेनी–३ हाटबजार क्षेत्रमा जारी महायज्ञको पाँचौँ दिन सम्म ८० लाख संकलन भएको महायज्ञ मूल समारोह समितिका संयोजक तथा छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्णमान तामाङले जानकारी दिनु भयो। समितिका अनुसार कुल रु. १० करोड संकलन गर्ने लक्ष्य राखिएको छ।


महायज्ञ कात्तिक १५ गतेसम्म सञ्चालन हुँदैछ। संकलित रकम मन्दिर क्षेत्रका स्थायी संरचना, ध्यान केन्द्र, सभाहल, विश्रामगृह, शौचालय, सरसफाइ पूर्वाधार, बाटो र पार्किङ निर्माणमा खर्च गरिने बताइएको छ।
त्यसका साथै, समितिले फूल तालिम केन्द्र स्थापना, भक्तजनको आवागमन सहज बनाउने, सरसफाइ सुदृढीकरण र धार्मिक पर्यटन प्रवर्द्धनलाई प्राथमिक कार्ययोजनाका रूपमा अघि सारेको छ।


गाउँपालिका अध्यक्ष शुक्र चुमानका अनुसार, छिम्केश्वरी क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न स्थानीय सरकार सक्रिय बन्दै आएको छ। उहाँले मन्दिर क्षेत्रको दीर्घकालीन विकासका लागि निरन्तर योजना र आर्थिक संकलन आवश्यक रहेको बताउनुभयो।
समुद्र सतहदेखि २,१३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी मन्दिरबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध, सैपाल र अपि हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। धार्मिक विश्वासअनुसार, गोरखाको मनकामनामाईकी दिदीका रूपमा पूजिँदै आएकी छिम्केश्वरी र बुढीमाईको दर्शनले मनोकामना पूरा हुने जनविश्वास छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्