काठमाडौँ: नेपाली काङ्ग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नियमित महाधिवेशन सम्भव रहेको र नयाँ नेतृत्वको मुद्दा यसैले सम्बोधन गर्ने दावी गरेका छन् । सामाजिक सन्जाल मार्फत एक भिडियो वक्तव्य जारी गर्दै उनले जारी केन्द्रीय समिति बैठकमा आम कार्यकर्ताको भावना र जेनजी आन्दोलनका क्रममा उठेका मुद्दा सम्बोधन हुने गरेर नियमित महाधिवेशन गर्न विस्तृत प्रस्ताव प्रस्तुत गरेको बताए ।
‘अहिले उठेका काङ्ग्रेस रुपान्तरण र पुस्तान्तरणसहितका तमाम मुद्दा सम्बोधनसँगै आम कार्यकर्ताहरुको मनोबल उच्च पारेर आम निर्वाचनमा पार्टीलाई अझ प्रभावकारी नतिजा दिन नियमित महाधिवेशन आवश्यक छ भनेर मैले जारी केन्द्रीय समिति बैठकमा विस्तृत लिखित प्रस्ताव प्रस्तुत गरिसकेको छु,’ केन्द्रीय सदस्य समेत रहेका उनले भने । विगतका उदाहरण हेर्ने हो भने पुस महिनाभित्र यो सम्भव पनि रहेको उनले बताए ।
अहिलेको कार्य समितिको म्याद थप्न लागिएको त होइन भनेर धेरै कार्यकर्ताबाट आशंकासहितको जिज्ञासा आफुले सामना गरिरहेको भन्दै उनले यसमा आफ्नो समर्थन नरहने बताए । महासमिति बैठक महाधिवेशन हुने वर्ष नबस्ने व्यवस्थातर्फ शंकेत गर्दै केन्द्रीय सदस्य पौडेलले परिवर्तित अवस्थामा जेनजी आन्दोलनको भावना समेट्दै नीतिगत स्पष्टताका लागि महाधिवेशन आवश्यक रहेको बताए ।
वर्तमान कार्य समितिको कार्यकालसमेत सम्पन्न हुन लागेका बेला म्याद थप्ने कुरामा असहमत नेता पौडेलले विशेष महाधिवेशन माग गरेका साथीहरुको चासोसमेत यसले सम्बोधन गर्ने बताए । उनले भने, ‘समयमै अधिवेशन सम्पन्न गर्न हामी सबै लागौं,’ ।

















