
दमौली: मुग्लिन पोखरा सडक विस्तार आयोजना अन्तर्गत तनहुँको दमौली बजार खण्डमा निर्माण कार्य अन्तिम चरणमा पुगे सङ्गै सडक डिभाइडर र रंगरोगनको काम चलिरहेको छ। तर, स्थानीय व्यापारीहरूले नियमको धज्जी उडाउँदै डिभाइडर हटाएर मनपरी जेब्रा क्रसिङ बनाउन थालेका छन्।
सडक सुरक्षा मापदण्ड अनुसार दमौलीको मुख्य चोक ट्राफिक चोक र बागबजार टोलमा मात्र जेब्रा क्रसिङ राखिएको छ। तर, गत असोज २४ गते भोर्लेटार चोकमा रहेका व्यापारीहरूले व्यापार नचलेको निउँमा जेब्रा क्रसिङ बनाई तीन वटा डिभाइडर आफैं हटाए। त्यस पछि कालिकामार्ग टोलका व्यापारीहरूले समेत जेसीभी प्रयोग गरेर डिभाइडर हटाई सर्वसाधारण हिड्न मिल्ने गरी जेब्रा क्रसिङ बनाईयो ।
डिभाइडर हटाइएको सोही दिन कालिकामार्ग चोकमा एक मोटरसाइकल दुर्घटना भयो। सडकपार गर्ने क्रममा अनियन्त्रित मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री घाइते भएको प्रहरीले जनाएको छ। यस्तै, जेब्रा क्रसिङ नभएको ठाउँबाट बाटो पार गर्न खोज्दा भोर्लेटार चोकमा पनि एक महिला मोटरसाइकलको ठक्करबाट घाइते भएकी थिइन्। प्राविधिक निरीक्षण बिना अनुमति बिना नै बनाइएका यी जेब्रा क्रसिङले दुर्घटनाको जोखिम झनै बढाएको पाइन्छ।
उद्योग वाणिज्य संघ तनहुँका अध्यक्ष बैकुण्ठनाथ मिश्रले समेत व्यापारीहरूले यस्तो कार्य गर्न नहुने बताए। आवश्यकता परे प्रविधिक अध्ययन पछि मात्रै समाधान खोजिनु पर्ने उनको भनाइ थियो