
काठमाडौं । तालिबानको गृह मन्त्रालयले अफगानिस्तानको पूर्वी क्षेत्रमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ६१० पुगेको जनाएको छ। मन्त्रालयका अनुसार १ हजार ३०० भन्दा बढी घाइते भएका छन्।
आइतबार राति ११ः४७ बजे अफगानिस्तानको नान्गारहार र कुनार प्रान्तमा भूकम्प गएको थियो। यसको गहिराइ ८ किलोमिटर थियो। त्यसपछि कम्तीमा ३ पटक फेरि भूकम्प गएको थियो। जसको तीव्रता ४.५ देखि ५.२ सम्म थियो । समाचार एजेन्सी एएफपीका अनुसार भूकम्पको धक्का अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामाबादसम्म महसुस गरिएको थियो।
भूकम्पबाट धेरैजसो क्षति कुनार प्रान्तमा भएको बताइएको छ। जहाँको लगभग ९० प्रतिशत जमिन पहाडी छ । भूकम्प प्रभावित क्षेत्रमा जाने सडकहरु धेरै साँघुरा छन्। तीमध्ये धेरै पहिरोका कारण बन्द भएका छन्। तालिबान अधिकारीहरुले आफूहरुसँग सीमित स्रोतसाधन रहेको र प्रभावित क्षेत्रहरुमा हेलिकप्टर उपलब्ध गराउन र पुग्न अन्तर्राष्ट्रिय संस्थाहरुबाट सहयोग खोजिरहेको बताएका छन्। –एजेन्सी