
भिमाद: मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि गाउँ कार्यक्रम अन्तर्गत भीमाद नगरपालिका–९ मा पहिलोपटक अकबरे खुर्सानी खेती गरिएको छ । यहाँका आठ वटा टोल विकास संस्था मार्फत एक सय रोपनी क्षेत्रफलमा करिब ५० हजार अकबरे खुर्सानीका बोट लगाइएको हो ।
खुर्सानी खेतीको आइतबार नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री किरण गुरुङ्ग, भीमाद नगरप्रमुख दधिराज सुवेदी, वरिष्ठ पत्रकार विश्वबन्धु भण्डारी, एमाले भीमाद नगर कमिटी अध्यक्ष ईमान बहादुर थापा, कांग्रेस भीमाद नगर सभापति अरविन श्रेष्ठ, माओवादी भीमाद अध्यक्ष अमृत सिग्देल लगायतका टोली स्थलगत अवलोकन गरेका थिए।
नेकपा एमाले भीमादका अध्यक्ष समेत रहेका कृषक ईमान बहादुर थापाका अनुसार, “हालसम्म दुई हजार पाँच सय किलो खुर्सानी बिक्री भइसकेको छ ।
हाल बजारमा प्रतिकिलोग्राम पाँचसय सम्म थोक मूल्य रहेको बताइएको छ । उनले भने “विभिन्न स्थानबाट दुई–तीन क्वीन्टल खुर्सानीको माग आइरहेको छ,यस ठाउँमा खुर्सानी खेती सफल बन्दै गएको छ ।” सुरुमा परीक्षणका रूपमा सुरु गरिएको खेतीबाट राम्रो उत्पादन भएपछि किसान उत्साहित भएको छन् । भीमाद नगरपालिकाले बिउ र मल्चिङ प्लास्टिकमा ५० प्रतिशत अनुदान गरेको थियो । नगरपालिकाले माटो परीक्षण, सिँचाइ पाइप तथा मलको थप व्यवस्थापन गरिदिए खेतीका लागि अझै सहज हुने व्यवसायीक किसानहरु बताउँछन् ।
उत्पादीत खुर्सानी पोखरा, काठमाडौँ, चितवन जस्ता शहरबाट अकबरे खुर्सानीको माग उच्च भइरहेको भानुमती नमुना कृषि गाउँका अध्यक्ष रणबहादुर गुरुङ्गले बताए । पूर्वमन्त्री किरण गुरुङ्गले अकबरे खुर्सानी खेतीबाट किसानमा देखिएको उत्साहले सकारात्मक संकेत गरेको बताए । उनले भने,“सरकारले नीति बनाउने मात्रै होइन, कार्यान्वयनमा समेत गम्भीर भएर लाग्नु पर्छ । यस्ता परियोजनाले गाउँमै रोजगारी सिर्जना गरेर वैदेशिक रोजगारीको चाप घटाउन सहयोग पुग्नेछ ।”
स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न र किसानलाई आर्थिक रूपमा सशक्त बनाउन यस किसिमका व्यवसायीले सहयोग पुग्ने नगर प्रमुख दधिराज सुवेदीले बताए । उनले भने,“आगामी दिनमा यस्ता कार्यक्रमलाई अझै व्यवस्थित र बिस्तार गर्दै लैजाने योजना बनाएको छौ ।”