ठमेल र महाराजगन्ज क्षेत्रबाट चक्रे मिलन सहित ४७ जना पक्राउ

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौँ । प्रहरीले ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) सहित ४७ जना भन्दा बढी छन् । चक्रे मिलन महाराजगन्ज स्थित साम्बाला होटलबाट पक्राउ परेका हुन् । उनी यसअघि २०७४ वैशाख २६ मा पनि महाराजगन्जबाट पक्राउ परेर छुटेका थिए ।

गुण्डागर्दीमा संलग्नहरूलाई नियन्त्रणमा लिन काठमाडौँका एसएसपी विश्व अधिकारी बिहीबार रातभर सक्रिय थिए । उनको ‘बर्थडे पार्टी’ मा गुण्डागर्दीमा संलग्न व्यक्तिहरू भेला भएको सूचनाका आधारमा प्रहरीले अप्रेसन चलाएको बताएको छ।

दिउँसो मन्दिर आसपास सहयोग माग्दै बसेका व्यक्तिहरुलाई पैसा बाँड्दै हिँडेका देखिएका उनी ठमेलमा केही र्‍यापरहरुसँग समेत देखिएका थिए । उनको जन्मदिनमा भेला भएका समर्थकहरुसँगै चर्चित र्‍यापरहरु समेत पुगेका थिए । त्यहाँ उनले एकैठाउँमा २० वटासम्म केक काटेको प्रहरी बताउँछ ।

अपराह्न उनको समूहले चक्रे मिलनलाई गाडीहरुको लावालस्करसहित महाराजगञ्जसम्म स्कर्टिङ गरेको थियो । यसको सूचना काठमाडौं प्रहरी र अपराध अनुसन्धान कार्यालय दुवैलाई पुगेको थियो ।

यसअघि, प्रहरीले साउन १५ मा बिहान ३ बजेतिर ठमेलको दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइलाई पक्राउ गरेको थियो । नर्सिङ चोक स्थित नगरकोट दोहोरीमा अर्को समूहसँग झगडा गरेपछि उनी पक्राउ परेका हुन् ।

नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टोखा स्थित सूर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाइ कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी हुन् । कुमार ‘घैँटे’ प्रहरी इन्काउन्टरमा मारिएका थिए ।

रेष्टुरेण्ट र रात्रि क्लबमा बसेर झैझगडा गर्ने र हप्ता असुल्ने गरेको गुनासो आएपछि गएराति गुण्डागर्दीविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरीले गुण्डागर्दीविरुद्ध अपरेसन चलाएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्