बहुमूल्य धातु खरिदमा कडाइ, सुनचाँदी बिक्री गर्दा पसलेले ग्राहकको केवाईसी भर्नु पर्ने

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौँ । बहुमूल्य धातु खरिदमा कडाइ हुने भएको छ । आन्तरिक राजश्व विभागले सुन चाँदी लगायत धातु तथा बहुमूल्य कारोबार गर्ने कम्पनीका लागि ग्राहकको पहिचान कायम गर्नु पर्नेगरी यस्तो व्यवस्था गरेको हो । 

विभागले सम्पत्ति शुद्धीकरण आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा आन्तरिक राजस्व विभागबाट बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायी (सूचक संस्था) का लागि निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । 

अब कुनै पनि ग्राहक आउने बित्तिकै सुनचाँदी व्यवसायीले उनीहरूको जोखिम मूल्याङ्कन गर्नुपर्छ र यसको अभिलेख समेत राख्नुपर्छ । त्यस्तो अभिलेख विभागले मागेको जुनसुकै अवस्थामा पनि उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ । 

कुनै ग्राहक उच्च देखिएमा त्यस्तो ग्राहकको वृहत् ग्राहक पहिचान फाराम भर्न लगाउनु पर्ने व्यवस्था समेत गरिएको छ । 

त्यस्तै, यस्ता संस्थाको कर्मचारी मार्फत हुन सक्ने शङ्कास्पद कारोबार नियन्त्रण गर्न आन्तरिक नीति तथा कार्यविधि बनाउनु पर्ने व्यवस्था समेत गरिएको छ । यस अन्तर्गत कर्मचारीको आन्तरिक कार्य विभाजन प्रस्ट पार्नु पर्ने, जोखिम व्यवस्थापनको आधार र पद्धति निर्माण गर्ने, ग्राहकको विवरण पहिचान तथा अद्यावधि गर्ने र विभाग तथा अन्य निकायले दिएका निर्देशन कार्यान्वयनको व्यवस्था मिलाउनुपर्ने उल्लेख गरिएको छ । 

कस्तो कस्तो अवस्थामा भर्नु पर्छ केवाईसी

विभागले दिएको निर्देशनमा अब सुनचाँदी तथा धातुजन्य व्यवसायीले व्यवसायिक सम्बन्ध स्थापना गर्ने जुनसुकै निकायको समेत पहिचान गर्नुपर्छ । त्यस्तै, एकैपटक वा पटक पटक गरी १० लाख वा सोभन्दा धेरैको खरिद गर्ने ग्राहकको पनि केवाईसी भर्नुपर्छ ।

यदि कुनै ग्राहकले पहिले दिएको जानकारीमा शङ्का लागेमा भने तत्काल पुनः केवाईसी भर्न लगाउन सक्ने व्यवस्था समेत गरिएको छ । उच्च जोखिम रहेका ग्राहकका हकमा प्रत्येक ६र६ महिनामा केवाईसी अपडेट गर्नुपर्ने व्यवस्था गरिएको छ । 

आर्थिक वा कानुनी उद्देश्य नदेखिने, सम्पत्ति शुद्धीकरण सम्बन्धी संस्थाको कालोसूची वा खैरोसूचीमा परेका मुलुकका नागरिकसँग कारोबार गर्दा थप ध्यान दिनुपर्ने व्यवस्था गरिएको छ । 

विभागले दिएको उक्त निर्देशन कार्यान्वयन नगर्ने व्यवसायीलाई १ करोड सम्मको जरिवाना देखि संस्था खारेजी सम्मको कारबाही गर्न सक्ने विभागले व्यवस्था गरेको छ । साभारः रातोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्